छैटौँ एशिया–प्यासिफिक युवा वैज्ञानिक सम्मेलन नेपालमा हुने भएको छ। सम्मेलन यही नोमेम्वर १ देखि ५ गतेसम्म काठमाडौंस्थित पार्क भिलेज रिसोर्टमा हुने आयोजक संस्था रिसर्च सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नोलोजी (रिकास्ट)ले जनाएको छ।
रिसर्च सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नोलोजी (रिकास्ट)का अध्यक्ष डा. रामेश्वर अधिकारीका अनुसार यस सम्मेलनले माध्यमिक तथा उच्च माध्यमिक तहमा विज्ञान अध्ययनरत विद्यार्थीहरूलाई वातावरणीय तथा वायुमण्डलीय खोज अनुसन्धान र यसको संवर्द्धन गर्न प्रभावकारी ढंगले सघाउ पुर्याउने छ।
सम्मेलनको अन्य आयोजक तथा सहआयोजकको रूपमा पोखरा विश्वविद्यालयको विज्ञान शाखा, काठमाडौं विश्वविद्यालय र विभिन्न विज्ञान–प्रविधिसँग सम्बन्धित संघ–संस्थाहरू रहेका छन्।
यसअघि यस सम्मेलन इण्डोनेशिया, मलेसिया, भारत र ताइवानमा आयोजना भइसकेको छ। नेपाल जस्तो विकासउन्मुख राष्ट्रमा यस सम्मेलन हुनु एउटा अवसर रहेको बताउँदै सम्मेलनको सम्पूर्ण तयारी समेत पूरा भएको आयोजकले जानकारी दिएको छ।
सम्मेलनका क्रममा विभिन्न वैज्ञानिक अनुसन्धानका प्रतिवेदनहरू, कार्यशाला गोष्ठी तथा अन्वेषणात्मक कार्यपत्र प्रस्तुत गरिने बताइएको छ। यस सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रका एघार राष्ट्रका युवा वैज्ञानिक तथा अन्वेषकहरूको सहभागिता रहने छ।