झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान सुरू गरेको छ।
शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान सुरू गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा बुझेको र आजैदेखि अनुसन्धान सुरू गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। उनले भने, ‘घटनाको सत्यतथ्य बुझ्न उहाँहरू बिर्तामोड गइसक्नुभएको छ।’
समितिमा नेपाल प्रहरीका रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहेका छन्। समितिले बिर्तामोड घटनाका बारेमा अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताइएको छ।