निस्दी गाउँपालिका¬–२ सहलकोटका भूकम्पपीडितलाई प्राविधिकबाट घर बनाउने अनुमति नपाउँदा बासको समस्या परेको छ।
भूकम्प गएको करीब तीन वर्षसम्म टहरामा बास बस्दै आइरहेका यहाँका भूकम्पपीडितलाई बास बस्ने टहरो पनि अहिले भत्किन थालेपछि बास कसरी बिताउने भन्ने चिन्ताले सताएको छ।
प्राविधिकको सल्लाह नपाउँदा घर बनाउने कार्यमा अन्यौलता छाएको सहलकोटका स्थानीयबासिन्दा भुमबहादुर रानाले बताए। ‘राहतबाट बनेको टहरो पनि पुरानो भएर भत्कन थालिसक्यो’, उनले भने ‘सरकारले पहिलो किस्ता उपलब्ध त गराएको छ तर निर्माण सुरू गर्नका लागि प्राविधिकहरू गाउँमा अहिलेसम्म आइपुगेका छैनन्।’
आफ्नै निर्णयले घर बनाएको भए अहिलेसम्म घर बनिसक्थ्यो, प्राविधिकको कारणले घर बनाउन नपाएको उनले गुनासो गरे।
अर्का भूकम्पपीडित पूर्णबहादुर गाहालाई भूकम्पपछि बनाएको टहरो अहिले भत्किएपछि बासको पिरलो परेको छ। ‘जसोतसो बास बस्ने टहरो थियो, त्यही टहरो पनि भत्किएर छिमेको घरमा बस्नुपर्ने अवस्था आयो’ उनले दुखेसो पोखे। दुई दिनसम्म उनी टहरो भत्किएपछि छिमेकीको घरमा बास बसे।अहिले भने भत्किएको त्यही टहरोलाई छिमेकीको सहयोगमा सामान्य मर्मत गरेर बास बस्दै आएका छन् तर त्यो पनि कतिबेला भत्किन्छ भन्ने टुंगो छैन।
तीन वर्षात र दुई हिउँको समय टहरामै जीवन बिताएका अधिकांश भूकम्प प्रभावितको समस्या उस्तै छ। अबको जाडोको समय कसरी बिताउने भन्नेमा पीडितहरू पिरोलिन थालेका छन्।
सरकारले पुनर्निर्माणमा बेवास्ता गर्दा आफूहरूले अझै पनि टहरामै बास काट्नु परेको पीडितहरू बताउँछन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कअनुसार पाल्पा जिल्लामा ४ हजार ६५२ घर पुनर्निर्माणका लागि छनौट भएका छन्। साविक सहलकोट गाविसका ३१५ घरमध्ये पछिल्लो तथ्याङ्कअनुसार १४६ घर पुनर्निर्माणका लागि छनौटमा परेको छ।
जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै ५० प्रतिशत पीडित घरपरिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण भइसकेको छ। तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि कुनै कर्मचारी नखटाउँदा निर्माण कार्यले भने गति लिन सकेको छैन।