स्थानीय तहको निर्वाचन सकिएलगत्तै हुन लागेको संघ र प्रदेशको चुनावको विषयले प्रदेश नं ४ को सम्भावित राजधानी पोखराका चियापसल र चोकमा चर्चा पाउन थालेको छ ।
देश प्रदेश र संघको नयाँ अभ्यासमा जाँदै गरेका अवस्थामा आसन्न निर्वाचनले राजनीतिक दललाई त छोएको छ नै सर्वसाधारण मतदाता पनि दलहरूले कस्ता उम्मेदवार दिन्छन् भन्ने कुरालाई निकै चासोले हेरिरहेका छन् ।
निर्वाचनको मिति घोषणा भएलगत्तै दलहरूले संघ र प्रदेशमा कस्ता उम्मेदवार बनाउने भन्नेतर्फ गृहकार्य गर्न थालिसकेका छन् ।
आसन्न निर्वाचनमा कास्की जिल्लामा प्रदेशका लागि छजना र संघका लागि तीनजना गरी प्रत्येक दलबाट नौजना उम्मेदवार बन्न पाउने छन् ।
नेपाली काँग्रेसले जिल्लामा संघ र प्रदेशको उम्मेदवारी तय गर्नका लागि गृहकार्य थालिसकेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताए।
‘काँग्रेस केन्द्रीय कार्यालयले जिल्लाभित्र संघ र प्रदेशका लागि उम्मेदवारको नाम तय गरी आगामी असोज १७ गतेभित्र केन्द्रमा सिफारिस गर्ने गरी पत्राचार गरेको छ’, उनले भने, ‘जिल्ला समितिको यही असोज ४ गते बसेको बैठकको निर्णयअनुसार आगामी असोज १३ गतेभित्र निर्वाचन क्षेत्रभित्रबाट जिल्ला समितिमा संघ र प्रदेशका लागि उम्मेदवार बन्न इच्छुकबीच छलफल गरी नामावली सिफारिस गरी पठाउनका लागि निर्देशित गरेका छौँ ।’
संघ र प्रदेशमध्ये प्रदेशतर्फ उम्मेदवारका आकांक्षी धेरै भएको उनले बताए।
नेपालीको महान् चाड दशैं नजिकिँदै गर्दा दलहरूलाई भने चुनावी रौनकले छोएका कारण उम्मेदवार कसलाई बनाउने भन्ने कुराले व्यस्त बनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पोखरालेखनाथ महानगर कमिटीका अध्यक्ष विश्वप्रकाश लामिछाने दलहरूले आसन्न निर्वाचनलाई नै महत्वपूर्ण चाडका रुपमा लिँदै उम्मेदवारी छनोटका साथै अन्य आवश्यक तयारी बढाएको बताउँछन् ।
‘नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको नाताले पनि संविधानको कार्यान्वयन गर्नुलाई हामीले अर्को महत्वपूर्ण जिम्मेवारीका रुपमा लिएका छौँ’, उनले भने, ‘संविधानको कार्यान्वयनको गहन जिम्मेवारीलाई आत्मसात् गरी आसन्न निर्वाचन भव्यताका साथ सम्पन्न हुनुपर्छ भन्ने सोचका साथ पार्टी चुनावी अभियानमा होमिइसकेको छ ।’
संघ र प्रदेशका उम्मेदवार तय गर्नका लागि गृहकार्य सुरू भएको बताउँदै उनले जिल्ला सचिवालयको बैठक सम्पन्न भई क्षेत्रीय कमिटीका बैठकहरू सुरू गरिएको बताए ।
‘आसन्न निर्वाचन सम्पन्न गर्नु पर्ने अभिभारा पूरा गर्नका लागि पार्टीभित्र पनि लोकतान्त्रिक पद्धतिअनुसार नै उम्मेदवारी चयन गर्ने कार्यमा हामी जुटेका छौँ’, उनले भने ।
आसन्न निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) कास्कीले पनि आन्तरिक तयारी तीव्र बनाएको छ ।
‘हामी आन्तरिक तयारीमा लागिसकेका छौँ’, पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापाले भने, ‘पार्टीको केन्द्रीय कमिटीको बैठक पनि सकिएको छ, केन्द्रले दिएको निर्देशनअनुसार अन्य कदम अगाडि बढाउनेछौँ।’
दलहरू निर्वाचनको तयारीमा जुट्दै गर्दा निर्वाचन आयोगले पनि आफ्नो तयारीलाई त्यहीरुपमा अघि बढाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले कार्यालयले संघ र प्रदेशको निर्वाचनको आवश्यक तयारी गरिरहेको बताउँदै दशैंलगत्तै निर्वाचनलाई लक्षित गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने जानकारी दिए।
संविधानको नयाँ व्यवस्थाअनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचनपछि नवनिर्वाचित जनप्रतिनिधि कार्यस्थलमा जुटिसकेका अवस्थामा हुन लागेको संघ र प्रदेशको निर्वाचन नेपालका लागि नयाँ प्रयोग हो ।
नेपालको संविधान, २०७२ को भाग ७, ८, ९ र १० मा संघीय कार्यपालिका, व्यवस्थापिका, व्यवस्थापन कार्यविधि र आर्थिक कार्यप्रणालीबारे उल्लेख छ ।
त्यस्तै, संविधानको भाग १३, १४, १५ र १६ मा प्रदेश कार्यपालिका, व्यवस्थापिका, व्यवस्थापन कार्यविधि र आर्थिक कार्यप्रणाली उल्लेख छ ।
संविधानअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने, जसलाई संघीय संसद् भनिने जनाइएको छ ।
प्रतिनिधिसभामा नेपाललाई भूगोल र जनसंख्याका आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना रहने गरी प्रत्यक्ष निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने ११० जना गरी २७५ सदस्य हुने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार स्थायी सदनका रुपमा रहने राष्ट्रिय सभामा ५९ सदस्य रहने छन् ।
त्यस्तै, प्रदेशसभाका सदस्यमा सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्याका साथै उक्त संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यक्ति सदस्य रहने छन् ।