नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ।
सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान सभापति र महामन्त्रीद्वयबीच छलफल भएको हो।
समसामयिक राजनीतिक घटनाक्रम, सरकार, उपनिर्वाचन तयारीलगायत विषयमा सभापति देउवा र महामन्त्रीद्वयबीच कुराकानी भएको हो।
सभापति देउवा केही समयदेखि गृहजिल्ला डडेल्धुरामा थिए। उनी करिब एक साता डडेल्धुराका गाउँ-गाउँको भ्रमण गरेर काठमाडौं फर्केका हुन्।
सभापति देउवाले काठमाडौं आएपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच केही मन्त्रीहरू हेरफेर गर्ने विषयमा कुराकानी भएको दाबीसहित चर्चा पनि भइरहेका छन्।
यद्यपि यसबारे सभापति देउवाले मंगलबार बिहान महामन्त्रीद्वयसँग केही कुरा गरेनन्।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र उपनिर्वाचन तयारीलगायत विषयमा कुराकानी भएको हो।
३३ जिल्लाका ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। जिल्ला समन्वय समिति प्रमुख भने कांग्रेस उम्मेदवार निर्विरोध भइसकेका छन्।
कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री शर्माको नेतृत्वमा समिति बनाएको छ। उपनिर्वाचन हुने ठाउँमा तयारी के-कसरी अघि बढाउनेलगायत विषयमा सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल भएको हो।
‘सभापति केही समयदेखि डडेल्धुरामा हुनुहुन्थ्यो, उहाँ काठमाडौं आएपछि उपनिर्वाचन तयारीका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका हौं,’ शर्माले भने, ‘समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीलगायत विषयमा पनि कुराकानी भए।’
उनकाअनुसार मन्त्रीहरू हेरफेरको तयारी गरिएको छैन। असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको जगमा असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए।
ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्रीहरू छन्।