मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका छन्।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका हुन्। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिन्न।
त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा सेयर भइरहेको छ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटोलाई प्रोफाइल पिक्चर राखिएको उक्त खातामा हालिएको भिडियोमा उक्त ‘अपुष्ट प्रमाण’ केही समयदेखि राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्राप्त भएको भनिएको छ।
प्रसाईंले केही समय अघिदेखि प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाउँदै आएका थिए। उनै प्रसाईंले सोमबार त्यो चिर्कटो सार्वजनिक गरेका हुन्।
‘मैले तथ्यमा आधारित सत्य कुरा, कम्बोडियाको लगानी, मैले आजभन्दा एक वर्षअगाडि बोलेको थिएँ कि, अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको लगानी मैले कम्बोडियामा छ भन्दाखेरी उहाँले सदनमा के भन्नुभएको थियो भने त्यो मेरो लगानी त्यहाँ छ भने त्यसमा म कतिपैसा थपेर जसले भन्छ त्यसलाई दिन्छु भन्नुभएको थियो। त्यसपछि मैले हरेक पहल गरेर मैले कम्बोडियामा २१ करोड डलर, नेपाली साढे ३२ अर्ब रुपैयाँ, त्यहाँ खड्गप्रसाद ओली भनेर लेखेको छ सेयरसहितको प्रमाणित कागज, त्यो पनि गुगलमा गएर प्रमाणित गरेर, फेरि भोलि होइन भन्छन्, कुरा बुझ्नु भएन, त्यो मैले प्रमाणित गरेर ल्याएको छु। त्यो सार्वजनिक गर्दैछु,’ उनले सार्वजनिक गर्दै भनेका थिए।
उनका यो भनाइसहितको भिडियो योहो टेलिभिजनको युट्युव च्यानलमा रहेको छ।
प्रसाईंले तथ्य–प्रमाण भन्दै प्रस्तुत गरिएको चिर्कटोमा प्रधानमन्त्री ओलीको हस्ताक्षर मात्र होइन, नामसमेत बिग्रिएको छ।
यसबारे हामीले प्रधानमन्त्री ओलीको सचिवालयलाई सोधेका थियौं।
प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले प्रधानमन्त्री ‘डिपफेकको सिकार भइरहेको’ बताए। साथै उनले कानुन विपरीत भएको कार्य कानुनअनुसार नै कारबाहीको दायरामा आउने बताए।
प्रधानमन्त्री ओलीको २०७० असोज १४ गते जारी नागरिकताको प्रतिलिपिमा उनको नाम केपी शर्मा र कोष्ठकमा (ओली) राखिएको छ।
चलनचल्तीमा प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली भनिए पनि नागरिकतामा भने केपी शर्मा ओली नै रहेको छ। चिर्कटोमा भनिएजस्तो खड्कप्रसाद ओली उनको अफिसियल नाम होइन।
कम्बोडियामा लगानी रहेको विषयबारे सामाजिक सञ्जालमा प्रश्न उठाइन थालेपछि प्रधानमन्त्री ओलीले गत वर्ष नै प्रष्टीकरण दिएका थिए।
‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो,’ उनले भनेका थिए।
प्रधानमन्त्री ओलीको आवाज नक्कल गरेर अर्को भिडिओ पनि सामाजिक सञ्जालमा हालिएको छ।
‘कमेडीको किरो राष्ट्रको हिरो’ भन्ने हास्यव्यंग्य शोमा कमेडियन सुरेश तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको रूपमा प्रस्तुती दिएका थिए।
उक्त कार्यक्रमको पाँचौं भागमा एमाले नेता कोमल वलीलाई अतिथि बनाइएको थियो। जुन अक्टोबर ३१ तारिखमा युट्युबबाट प्रसारण भएको थियो।
उनले उक्त प्रस्तुतिमा भनेका छन्, ‘बालकोट, बालुवाटार, बूढानीलकण्ठ रेल १४ वर्ष जेल। मीनबहादुरसँग भएको राम्रै मेल फाइल पल्टाउँछु भन्नेलाई हालियो जेल।’
त्यही आवाजलाई प्रधानमन्त्री ओलीले कुनै कार्यक्रममा भाषण गरिरहेको भिडिओमा जोडेर फेसबुकमा सार्वजनिक गरिएको छ।
यो कुरा तिमल्सिनाले उक्त भिडिओको २७ मिनेट ५० सेकेन्डमा भनेका छन्।
यसबारे हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीलाई पनि सोध्यौं। उनले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।
‘यस विषयमा हामीले हेरिरहेका छौं। बाहिर आएका सबै कुरा सत्य नै हुन्छन् भन्ने छैन। अनुसन्धान हुँदैछ,’ उनले भने।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले यस विषयमा कानुनअनुसार कारबाही अघि बढ्ने बताए।
‘यस्ता भ्रमहरू निवारण गर्न राज्यको कानुन र सिंगो समाज पनि लाग्नुपर्छ, यो विषयमा के भएको हो हेर्छौं र कानुनअनुसार अघि बढ्छौं,’ उनले भने।