सरकारले नागरिकको स्वास्थ्य उपचार पाउने नैसर्गिक अधिकार एवं संवैधानिक हकलाई सम्मान गर्दे जारी आन्दोलनलाई अविलम्ब फिर्ता लिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।
कार्यबहाक प्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आन्दोलनरत चिकित्सकलाई आन्दोलन फिर्ता लिई सबै किसिमका स्वास्थ्य सेवामा पूर्ववत् फर्कन आह्वान गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएपछि आन्दोलनरत चिकित्सकको समस्या समाधानका लागि छलफल गरी वार्ता अघि बढाउने भन्दै मन्त्रीपरिषद् बैठकले तत्काल बिरामीको स्वास्थ्य उपचारमा जुट्न चिकित्सकलाई आह्वान गरेको हो ।
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिने क्रममा अहिले अमेरिकामा छन् । असोज २ गतेको मन्त्रीपरिषद्को बैठकले उपचाररत बिरामीको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएमा क्षतिपूर्ति चिकित्सकबाट भराउने गरी स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई भनेको थियो । सोही निर्णयको विरोधमा चिकित्सकहरूले आन्दोलनरत छन् ।
यसैक्रममा सोमबार चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय अगाडि प्रदर्शन गरेका थिए ।