सत्तारुढ नेपाली काँग्रेसले पूर्व सांसदहरूलाई पनि राज्यले सुविधा दिनुपर्ने माग गरेका छन् ।
व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको सोमबारको बैठकमा ‘पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेसले सो कुराको माग गरेको हो ।
काँग्रेस सांसदहरूले जनताबाट निर्वाचित पूर्व सांसदहरूलाई राज्यले तत्काल सुविधा उपलब्ध दिनुपर्ने भन्दै पूर्व सांसदहरूलाई पूर्व पदाधिकारीको मान्यता नदिएकोमा आपत्ति समेत जनाएका छन् ।
नेपाली काँग्रेसका सचेतक इश्वरी न्यौपानेले जनताको पक्षमा निष्ठापूर्वक काम गरेका पूर्व सांसदहरूलाई राज्यले अपमानजनक व्यवहार गर्न नहुने स्पष्ट पारे । उनले पूर्व सांसदहरूको सम्मानका लागि पनि राज्यले तत्काल सुविधा दिनुपर्ने माग गरे।
काँग्रेसकै अर्का सांसद अर्जुनप्रसाद जोशीले पनि निष्ठापूर्वक जनताको सेवा गरेका पूर्व सांसदहरूलाई पनि पूर्व पदाधिकारीको मान्यता दिन सरकारसँग माग गरे । उनले जनताका प्रतिनिधिहरूलाई अब पनि अपमानित गर्ने काम राज्यले गर्न नहुने तर्क पनि गरे ।
यता, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन सामयिक नहुने टिप्पणी गरे । उनले भूकम्प र बाढीले जनता पीडित भएका बेला राज्यले उनीहरूको सेवालाई उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पारे ।
पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रीपरिषदका अध्यक्ष, प्रधानन्यायाधिश, प्रतिनिधि सभा वा व्यवस्थापिका संसदको सभामुख, राष्ट्रिय सभा वा संविधान सभाको अध्यक्ष भई निवृत भएको व्यक्तिलाई मात्रै पूर्व पदाधिकारीको मान्यता दिएको छ । तर काँग्रेस सांसदहरूले भने जनताको निर्वाचित प्रतिनिधिको रुपमा पूर्व सांसदहरूलाई पनि पूर्व पदाधिकारीको मान्यता दिनु स्वभाविकै हुने तर्क अघि सारेका छन् ।