दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार उनकै सरकारी निवासमा आक्रमण भएको छ।
साप्ताहिक जनसुनुवाइ कार्यक्रम चलिरहेका बेला एक व्यक्तिले उनीमाथि हातपातको प्रयास गरेका हुन्।
सुरक्षाकर्मीले आक्रमणकारीलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार, बुधबार बिहान मुख्यमन्त्री गुप्ताले आफ्नो निवासमा सर्वसाधरणको गुनासो सुन्नका लागि नियमित 'जनसुनुवाइ' कार्यक्रम राखेकी थिइन्।
सर्वसाधरणको गुनासो सुनिरहेकै क्रममा एक व्यक्तिले मुख्यमन्त्री गुप्तालाई थप्पड हानेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
त्यसअघि उनले मुख्यमन्त्री गुप्तालाई कपालमा समातेर तानेर थप्पड हानेका थिए। त्यसपछि त्यहाँ उपस्थित सुरक्षाकर्मी र अधिकारीहरूबीच हल्लीखल्ली र धकेलाधकेल भएको थियो।
धकेलाधकेल भएपछि मुख्यमन्त्री गुप्ता लडेकी थिइन्। उनको टाउकोमा चोट लागेको छ।
घटनापछि मुख्यमन्त्री गुप्तालाई चेकजाँचका लागि अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय जनता पार्टी दिल्ली अध्यक्ष विरेन्द्र सचदेवाले बताएका छन्।
उनले सञ्चारमाध्यमहरूले मुख्यमन्त्रीमाथि थप्पड प्रहार भएको कुरा सत्य नभएको बताए। उनले मुख्यमन्त्रीमाथि आक्रमण प्रयास भएपछि ठेलमठेल भएको बताए। उनले मुख्यमन्त्रीको कमजोर सुरक्षा व्यवस्थाका कारण घटना भएको बताए।
मुख्यमन्त्री कार्यालयकै कर्मचारीहरूले भने ती पुरूषले मुख्यमन्त्रीलाई पत्र दिएर अपशब्द बोल्दै थप्पड हानेको बताएका छन्।
घटनालगत्तै मुख्यमन्त्रीलाई थप्पड हान्ने भनिएको व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति राजकोटका ४१ वर्षीय राजेश भाइ नाम गरेका व्यक्ति छन्। उनीबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।
(भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)