नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरूरी रहेको बताएका छन्।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेकलाग्दो रहेको जिकीर गरे।
लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरूरी रहेको उनले बताए।
‘कहिलेकाहीँ नेपाली कांग्रेसभित्रै बहस चलेको सुन्दछु म। उदेकलाग्दो छ। नेपाली कांग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ। शेरबहादुर दाइ कति पटक प्रधानमन्त्री हुने? अब अरू मलाई दिनुपर्दछ। यो प्रधानमन्त्री भन्ने कुरा पालोको कुरा हो र? विश्वासको कुरा हो। पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ। यति कुरा त लोकतन्त्रमा बुझ्नुपर्यो यो नि,’ उनले भने।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा अब प्रधानमन्त्री बन्न नहुने कुरा पार्टी केन्द्रीय समिति बैठकमै भनेका थिए। त्यसप्रति लक्ष्य गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन्।
‘आदरणीय देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, कति प्रधानमन्त्री हुनुभयो भन्दा एक कार्यकाल पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन। एक कार्यकाल भनेको त पाँच वर्ष होला नि। नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले व्यहोर्नुपर्ने? राजनीति अस्थिर रहने, त्यसपछि हामी कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने यो उचित तरिका हुन सक्दछ? त्यस अर्थमा नेपालको राजनीतिमा जे समस्या छ, त्यसमा प्रवेश गरेर समाधान खोज्न सक्नुपर्दछ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)