प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी रहने जनाएको छ।
सोमबार प्रतिनिधि सभामा बोल्दै रास्वपा सांसद असिम शाहले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनुन्जेल विरोध जारी रहने बताएका हुन्।
उनले त्यसपछि भ्रष्टाचारका अरू प्रकरणहरू पनि सार्वजनिक भएको तर मन्त्रीले राजीनामा दिएपछि छानबिनको फाइल नै बन्द भएको बताए।
'भ्रष्टाचारको अडिओ बाहिरियो घुस मागेको अडिओ आयो। राजीनामा दिएपछि सबै पाप पखालियो? राजीनामा भनेको भ्रष्टाचारको पापबाट मुक्ति पाउने गंगास्नान पो रहेछ,' उनले भने, 'तत्कालीन मन्त्री राजकुमारले गुप्ताले राजीनामा दिनुभयो। छानबिनको फाइल बन्द भयो। त्यही अडिओमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई चाहिँ किन अदृश्य शक्तिको संरक्षण दिइरहेको छ। उहाँका लागि यो देशमा अर्कै कानुन छ?'
यस विषयमा छानबिन हुनुपर्ने उनले बताए।
त्यस्तै वन मन्त्रीले हुँदै नभएको कार्यक्रम बनाएर श्रीमती र स्वकीय सचिवलाई नर्वे शयर गराएको आरोप पनि लगाए।
'सरकारलाई लाज लागेको छैन होला। हामीलाई लाज लागिसक्यो। के-केको मात्रै विरोध गर्ने होला?,' उनले भने।
उनले सरकार र प्रधानमन्त्रीले सिंहदरबारबाटै छानबिनको झाडु लगाउन सुरू गर्नुपर्ने बताए।
'आफ्नो मन्त्रीहरूको अनुहारमा लागेको भ्रष्टाचार र बेथितिको धुलो पुछोस् तब मात्रै जनताले न्यायको सफा ऐना देख्नेछन्,' उनले भने।