अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरी मिलाइदिने भन्दै २५ हजार रूपैयाँ घुस लिएका निजामती कर्मचारीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको छ।
एमाले गण्डकी प्रदेश कमिटी अन्तर्गत उद्योग तथा वाणिज्य विभाग सदस्य कपिल गिरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको हो। पार्टीको शनिबार र आइतबार बसेको बैठकले उनलाई पार्टी सदस्यबाट निलम्बन गरेको प्रदेश अध्यक्ष नवराज शर्माले बताए।
गिरीले पार्टी सदस्यमा आफ्नो नाम पुरा नराखी के. गिरी राखेका थिए।
‘लेनदेनका विषय बाहिर आएपछि हामीले उद्योग वाणिज्य विभागका सदस्य के. गिरीको सदस्यता निलम्बन गरेका छौं, उहाँ निजामती कर्मचारी भएको सुन्नमा आएको छ,’ अध्यक्ष शर्माले भने।
एमाले गण्डकीका एक नेताका अनुसार प्रदेश कमिटीको उद्योग वाणिज्य विभागमा रहेका के. गिरी पोखरा महानगरपालिकामा कार्यरत अधिकृत कपिल गिरी हुन्। अख्तियारमा परेका उजुरी मिलाइदिने भन्दै पोखरा महानगरका कर्मचारीसँग २५ हजार रूपैयाँ घुस लिएपछि उनलाई गत चैत ६ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो।
पोखरा महानगरपालिकाको उजुरी हेर्ने फोकल पर्सनका रूपमा कार्यरत गिरी अख्तियारमा उजुरी परेका अर्का कर्मचारीले खाममा राखेर २५ हजार रूपैयाँ दिएका थिए। पोखरा महानगरका एक कर्मचारीका अनुसार गिरीले आफू एमालेको प्रदेश कमिटीको उद्योग वाणिज्य विभागको सदस्य रहेको समेत बताउने गरेका थिए।
स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट पोखरा महानगरपालिका सरूवा भएका गिरी स्याङ्जाका स्थायी बासिन्दा हुन्। उनी पोखराको विरौटामा बसाई सरेर आएको महानगरका कर्मचारी बताउँछन्।
प्रदेश कमिटी बैठकमा पोखराको १३५ रोपनी लिची बगैँचा हड्प्न तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुस डिल गरेको भनिएका सुजन लामालाई निलम्बन गर्ने विषयले प्रवेश पाएपछि गिरीलाई पनि निलम्बन गर्न प्रदेश सदस्यहरूले प्रस्ताव गरेका थिए। सोही प्रस्तावका आधारमा गिरीलाई पनि निलम्बन गरेको एमालेले जनाएको छ।
निजामती कर्मचारीले पार्टी सदस्यता लिन नपाउने कानुनी व्यवस्था भएकाले गिरीले छद्य नाम राखेर सदस्यता लिएका थिए।