नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरूको आकांक्षा पूरा नहुने बताएका छन्।
उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसबारे पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरूको कामना पूरा नहुने स्पष्ट पारे।
उनले बैठकमा हुँदै नभएको छलफलहरू पनि सञ्चारमाध्यममा ठूलो शीर्षकमा राखिएको बताए।
‘बाहिरबाट पार्टी फुटोस् भनेर कामना गरेर बसेको त देख्छौं। मिटिङमा पनि कसले के भने कसले के भने भनेर अतिरञ्जित गरेका कुराहरू त देखिरहेका छौं। कतिपयले कामना त गरिरहेका छन्। तर त्यो पूरा हुँदैन। नभनेका कुराहरू ठूलो शीर्षकमा आए। पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा पनि रहेछ,’ उनले भने।
उपमहासचिव बस्नेतले पार्टीलाई अहित हुने काम गरेकाहरूले आत्मालोचना गर्नुपर्ने बताए।
–न्युज एजेन्सी नेपाल