नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बोत्ले घटनाको सम्झनामा कार्यक्रम भयो।
दोलखाको बोत्लेमा २०५९ साउन १८ गते तत्कालीन राज्य पक्षबाट १४ जना मारिएको घटनाको स्मृतिमा उक्त कार्यक्रम भएको थियो।
सो घटनामा पत्नी गुमाएका माओवादी दोलखाका नेता शंकर लामा कार्यक्रममा सम्बोधन गर्दा भावुक भए।
उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि थिए।
‘सहिद पनि वर्गीय हुन लागे। हुनेखाने, टाठाबाठा र नेताहरूको परिवार भयो भने स्मृति दिवस मनाइरहने तर साधारण जनता सहित भएको वास्ता छैन,’ माओवादीले सहिदहरूलाई समान व्यवहार गर्न नसकेकोतर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डकै अघि उनले भने।
यसो भन्दै गर्दा उनी पटकपटक आँशु पुछिरहेका थिए।
उनले सहिद र घाइतेहरूलाई पार्टीले बिर्सन नहुने बताए। साथै पार्टीभित्र धेरै पदाधिकारीहरू राख्ने गरिएकोमा उनले असन्तुष्टि जनाउँदै नेताहरू पदलोलुप भएको आरोप लगाएका थिए।