नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतभेद छ।
सार्वजनिक मञ्चहरूमा, पार्टीका कार्यक्रममा र पत्रकार सम्मेलनमा दुवैले एक-अर्काको खुलेर आलोचना गरेपछि पार्टी भित्रको विवाद सतहमा आएको छ।
अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि खनालले नेतृत्व परिवर्तनको विषय उठाएका थिए। त्यसपछि पार्टीभित्र दुई नेताबीचको विवाद बाहिर आएको हो।
त्यसको असर युवा, विद्यार्थी फाँटमा देखा परेको छ। अध्यक्ष र सम्मानित नेता पक्षले अलगअलग गतिविधि गरिरहेका छन्।
झलनाथ खनाल पछिल्लो समय २०७८ भदौमा एमाले विभाजन नै गर्नुको औचित्य नै पुष्टि गर्न नसकेको भन्ने निष्कर्षमा पुगेका छन्।
उनीहरूबीच माओवादी केन्द्रसँगको एकतामा पनि मत मिलेको छैन।
विवाद चुलिँदै गएपछि अध्यक्ष नेपालले खनाललाई पार्टी छाडेर जान भनेका छन्।
शुक्रबार विराटनगरमा पत्रकारहरूको जिज्ञासामा अध्यक्ष नेपालले झलनाथका लागि पार्टीमा ठाउँ नभएको बताएका थिए।
‘पार्टीबाट बिदा गर्दिनुपर्छ। यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन। उहाँले खुरूक्क राजीनामा दिनुपर्छ। बिदा भएर जानुपर्छ। यो संस्थागत निर्णय हो। उहाँ निर्णयको उल्लंघन गर्नेमा नम्बर वन हुनुहुन्छ,’ नेपालले भनेका थिए।
त्यसको जबाफ दिन खनालले शनिबार पत्रकार सम्मेलन गरेर दिए।
खनालले विराटनगरमा अध्यक्षले गरेको कुराले दुःख लागेको बताए।
'छाडेर जानुस भनेको सुने। मनमा गुने। बडो दुःख लाग्यो। ०३२ सालदेखि सँगै बसेको पार्टी, सँगै आएको नेताले कम्युनिस्ट पार्टीको नियमहरू नीतिहरू राम्रैसँग बुझेको हुनुपर्छ भन्ने मेरो अनुमान थियो,' उनले भने, 'तर यति तल्लो स्तरको चिन्तन उहाँमा रहेछ।'
पत्रकार सम्मेलन गरेर खनालले नेपाललाई योसहित पाँच कुरा भने।
पार्टीको दसौं महाधिवेशन भएको १३ महिनासम्म पार्टीले पास गरेको समाजवादी कार्यक्रमको दस्तावेज आजसम्म सार्वजनिक नभएकोमा असन्तुष्टि व्यक्त गरे।
'१३ महिनासम्म पार्टीले पास गरेको समाजवादी कार्यक्रमको दस्तावेज आजसम्म प्रकाशित भएको छैन। डेढ लाख पार्टी सदस्यहरू के बोकेर हिँडिरहेका होलान्। लक्ष्य नै छैन,' उनले भने।
पार्टीको कार्यदिशा, नीति र सिद्धान्तबारे अझै प्रष्ट पार्नुपर्ने र त्यसका लागि पुनर्गठन गर्नुपर्छ भनेर बारम्बारभन्दा पनि सुनुवाइ नभएको सम्मानित नेता खेनलले बताए।
'विधान कम्युनिस्ट पार्टीको जस्तो भएन। पार्टीमा बहस छलफलको आवश्यक छ। त्यो नै भएन,' उनले भने।
उनले माधव नेपालसँगको विवाद झगडा नभई पार्टीभित्रको नीतिगत बहसमात्रै रहेको पनि प्रष्ट पारे। आफूले विद्रोह ठीक थिएन नभनेको तर औचित्य पुष्टि गर्न सकिएन भनेको पनि खनालले बताए।
'विद्रोह गलत थियो भन्ने धारणा होइन तर हामीले औचित्य पुष्टि गर्न सकेनौं भने त्यो स्वतः गलत सिद्ध हुन्छ,' उनले भने।
नेता खनालले अध्यक्ष नेपालसँग ०३२ सालदेखि कार्यदिशा, नीति र सिद्धान्तमा एकरूप भएर लड्दै आएको बताए। त्यसकारण उनलाई आफ्नो नेताभन्दा सहयोद्धा ठान्ने नेपालले बताए।
'माधवजीलाई मेरो नेता, उहाँले मलाई निर्देशन दिएर काम गर्नुपर्ने भनेजस्तो कहिल्यै ठानिनँ। सहयोद्धा चाहिँ हो। ०३२ सालदेखिको सहकार्य हो।अध्ययनको हिसाब, व्यवहारिक हिसाब र वैचारिक हिसाबले पनि धेरै परिपक्व हुनुहुन्छ ठानेर तपाईं नै अध्यक्ष बन्नुस् भनेँ,' उनले भने।
आन्दोलन अगाडि बढेर जनताले अग्रगति प्राप्त गरे आफू सन्तुष्ट हुने बताएको तर यहाँसम्म आइपुग्दा सन्तुष्ट हुन नसकिएको उनले बताए।
'वैज्ञानिक समाजवादको बाटो समात्ने कि बहुदलीय जनवाद समाजवाद समात्ने। लोकतान्त्रिक समाजवाद जसलाई बुर्जुवा विचारधारकै रूप भनिन्छ। त्यो पक्षधरतातर्फ लागेको उहाँहरू देख्छु,' उनले भने।
पत्रकारले सोध्दैमा विराटनगरमा अध्यक्ष नेपाल प्रतिक्रियाशील हुन नपर्ने खनालले बताए।
'०३२ सालदेखि सँगै बसेको पार्टी, सँगै आएको नेताले कम्युनिस्ट पार्टीको नियमहरू नीतिहरू राम्रै गरी बुझेको हुनुपर्छ भन्ने मेरो अनुमान थियो।तर अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्षको पोस्टमै हुनुहुन्छ। विराटनगरमा पत्रकारहरूले सोधेको आधारमा प्रतिक्रियाशील भएर पार्टी छोड् भनेर आदेश दिनुभएछ,' उनले भने।
आदेश दिँदैमा पार्टी नछाड्ने उनले बताए।
'आदेश दिनेबित्तिकै कुनै पार्टी सदस्य वा नेताले छोड्छ? यही हो नेताको हैसियत? बडो दुःख लाग्यो। भव्य नेताको रूपमा हेरेको थिएँ तर यति तल्लो स्तरको चिन्तन उहाँमा रहेछ,' उनले भने।
माधव नेपाल 'पेटिबुर्जुवा' चिन्तनले ग्रसित व्यक्ति रहेको पनि खनालले बताए।
'माधवकुमार नेपालको मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने अपेक्षा गरेको थिइनँ। यदी मैले बोलेको र लेखेका कुराले कतै समस्या भएको भए पार्टीको बैठक बोलाउँदा हुन्छ। त्यसमा छलफल गर्दा हुन्छ। छलफलबाटै समस्या समाधान गर्दा हुन्छ,' उनले भने।
नेता खनालले एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेदेखि नै अध्यक्ष नेपालसँग भएको विवादको शृंखला सुनाए।
पहिलो, एमसिसीबारे।
एमसिसी पास गर्न नहुने पक्षमा आफू भए पनि पास गर्ने पक्षमा माधव नेपाल गएको उनको भनाइ छ।
दोस्रो, सरकारमा सहभागी बारे।
माधव नेपाल जुनुसुकै सरकारमा पनि सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको झलनाथ खनालको आरोप छ।
'कस्तो सरकारमा सहभागी हुने र नहुने भन्ने दृष्टिकोण हुनुपर्छ। सरकारमा जहिलेपनि सहभागी हुनुपर्ने उहाँको लाइन देखियो,' उनले भने।
वामन्थीहरूको सरकार छ भने सहभागी हुने हो तर गैरवामपन्थीहरुको सरकारमा सहभागी हुन नहुने आफ्नो धारणा रहेको उनले बताए।
'त्यो आत्मसमर्पण हो। बिसर्जन हो। त्यस्तो कुरा गर्नुहुँदैन भनेको हो। उहाँ मान्नुभएन,' खनालले भने।
चुनावमा गठबन्धन गर्ने विषयमा पनि आफ्नो असहमति रहेको खनाले बताए।
'मान्नुभएन। कांग्रेसको पछि लाग्नुभयो। अहिले सबै साथीहरू धोका भयो भन्नुहुन्छ। धोका खान किन गएको । त्यो हुन्छ भन्ने पहिले नै ज्ञारेन्टी थियो,' खनालले भने।
पार्टीकै वैचारिक दिशाबारे पनि मतभेद रहेको खनालले बताए।
उनले ०६३ को जनआन्दोलनसँगै त्यसले ल्याएको परिवर्तनपछि जबजले पूर्णता पाइसकेकाले अबको नीति वैज्ञानिक समाजवाद हुनुपर्छ भनेर आफूले पार्टीभित्र राखेको बताए।
'उहाँहरू त्यसलाई नै बोकेर हिँड्न खोज्नुहुन्छ,' उनले भने।
सम्मानीत नेता खनालले विवाद हुँदैमा पार्टी छाड्ने पक्षमा आफू नरहेको बताए। बरू नेतृत्व गर्न नसक्नेहरू नै पार्टी छाडेर जानु बेस हुने उनले बताए।
'पार्टी छाड्ने कुरा त कल्पना नै गर्दिन। मेरो डिक्स्नरीमा त्यस्तो शब्द छैन। विद्रोह गरेर बनाएको पार्टीलाई बढी बैचारिक, राजनीतिक र सैद्धान्तिक रूपले सुदृढ पो गर्नुपर्नेछ। यसलाई रूपान्तरण गर्नुपर्छ। यसबाट भाग्ने, राजीनामा गरेर हिँड्ने त कल्पनै गर्दिनँ। कसैले राजीनामा दे भन्ने बित्तिकै खुरूक्क राजीनामा दिएर हिँड्छु र! कसैलाई यो पार्टी चाहिएको छैन भने आफै हिँड्न सक्छन्,' नेता खनालले भने।