नेपाली कांग्रेस दाङले 'शहीद' शोभाकर (शालिकराम) घिमिरेको शालिक स्थापना गर्ने भएको छ।
कांग्रेस साबिक पुरन्धारा इकाइ उपसभापति घिमिरेको शालिक स्थापना गर्न लागिएको हो।
कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति तथा शालिकरामको शालिक स्थापनार्थ गठित समितिका संयोजक जगतबहादुर खड्काले दुई साताभित्रै शालिक अनावरण गर्ने बताए।
‘शालिक निर्माण गरी तयारी अवस्थामा छ। आपसमा रकम संकलन भइरहेको छ,’ उनले भने।
शालिक निर्माणमा ५ लाख खर्च लागेको भन्दै उनले कुल ९ लाखसम्म खर्च लाग्न सक्ने अनुमान गरेका छन्।
२०५५ साउन १६ गते राति खाना खाएर बसिरहेका ३२ वर्षीय शालिकरामलाई तत्कालीन विद्रोही नेकपा (माओवादी) ले गोली हानी हत्या गरेका थिए।
कांग्रेस दाङका अनुसार जिल्लामा माओवादीबाट हत्या गरिएका शालिकराम नै पहिलो शहीद हुन्।
दाङको क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले बबई गाउँपालिका–५ स्थित शहीद शालिकरामको घर नजिकै सडकको चोकमा शहीद घिमिरेको शालिक शिलान्यास गरेका छन्।
उनले शहीदहरूकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताए।