नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकको उद्घाटन मन्तव्यमा नै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गरेका थिए।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेपालले पतञ्जलीको जग्गा प्रकरणबारे लिखित प्रतिवेदन पेस गरी मौखिक रूपमा व्याख्या गरेको बताए।
‘माधव नेपालविरूद्ध मात्र नभई एकीकृत समाजवादीविरूद्ध लिइएको प्रतिशोध हो भन्ने निष्कर्षमा बैठक पुगेको छ,’ उनले भने।
यस्तै, आजको बैठकमा प्रदेश इन्चार्जहरूले आ-आफ्नो प्रदेशको रिपोर्टिङ गरेको उनले बताए। आज १० जना सदस्यले बोलेका थिए।
स्रोतका अनुसार पार्टीका सम्मानित नेता झलनाथ खनालले पतञ्जली प्रकरणको विषयलाई लिएर आजको बैठकमा नेपालको राजीनामा माग्ने चर्चा बिहानैदेखि पार्टीमा चलेको थियो।
‘आजको बैठकमा उहाँको पालो आएन,’ स्रोतले भन्यो,‘भोलि यो विषयले प्रवेश पाउँछ कि पाउँदैन, भोलि नै थाहा होला।’
बैठक भोलि बिहान साढे ८ बजे आलोकनगरमा बस्नेछ।
पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको थियो।