अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी एजेन्डा- अमेरिका फर्स्ट हो।
लगभग उस्तै एजेन्डा 'कपी' गर्दै अमेरिकाभन्दा निकै टाढा नेपालमा यो एजेन्डासहित राजनीतिक दल खोल्ने निष्कर्षमा दुर्गा प्रसाईं पुगेका छन्।
प्रसाईंले 'फर्स्ट नेपाल, फर्स्ट नेपाली' एजेन्डा अघि सार्दै भिन्न राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्।
उनले दलको नाम के राख्नेजस्ता विषय उल्लेख गरेनन्, दलको स्वरूप तयार भएर निर्वाचन आयोगमा कहिले दर्तामा जान्छन् यसबारे खुलाएनन् तर उनी दल खोल्ने तयारीमा भने छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) हुँदै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियान घोषणा गरी राजनीतिक गतिविधि गर्दै आएका मेडिकल व्यवसायी प्रसाईंले अब राजनीतिक दल खोल्ने तयारी गरेका छन्।
उनी पछिल्लो समय राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा थिए। उनकै आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन थियो। प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, केही मानिस घाइते, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालयमा आगजनी भयो।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित 'संयुक्त जनआन्दोलन समिति' ले प्रसाईंलाई 'जनकमाण्डर' पनि तोकेको थियो।
राजा फर्काउने आन्दोलनका 'जनकमाण्डर' प्रसाईं चैत १५ को घटनापछि पक्राउ परेर हिरासत र कारागार बसेर अदालतको आदेशअनुसार धरौटीमा हालै रिहा भएका थिए।
साउन १९ गते उच्च अदालत पाटनले प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसको १५ दिन नपुग्दै प्रसाईंले आफ्नै निवास भक्तपुरमा सोमबार पत्रकार सम्मेलन गरी नयाँ राजनीतिक दल खोल्ने निर्णय सुनाएका हुन्।
प्रसाईंले पत्रकार सम्मेलनमा अभिव्यक्ति राख्नुअघि करिब १५ मिनेटको भिडिओ प्रस्तुत गरिएको थियो। उक्त भिडिओमा प्रसाईंले राख्दै आएका र अब उठान गर्ने एजेन्डाहरू समावेश गरिएका थिए।
'फर्स्ट नेपाल, फर्स्ट नेपाली, अब देश निर्माणको अभियान' भन्दै भिडिओ सुरूवात गरिएको थियो। देश समृद्ध बनाउन र नेपाली जनता मुस्कुराउन एउटा भिन्न क्रान्ति आवश्यक रहेको भिडिओमा उल्लेख छ।
यस्ता छन् प्रसाईंका मुख्य एजेन्डा;
- नेपाल नेपालीले नै बनाउने हो, नेपालमा व्यापार नेपालीले नै गर्ने हो।
- बौद्ध किरातसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य स्थापना गर्ने हो।
- प्रदेश संरचना खारेजी, ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने।
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था।
- नेपालमै युवालाई सीपअनुसार कामको व्यवस्था।
- खाडीका जेलमा रहेका युवालाई नेपालमा फर्काउने।
- भुइँ मानिसले लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा।
- २० लाखमाथि मध्यमवर्गीय व्यापारीको ऋण २५ वर्ष समयावधि राखेर ५ प्रतिशत व्याजमा तिर्न पाउने व्यवस्था।
- सहकारी बचतकर्ताको रकम राज्यले तिर्ने व्यवस्था।
- ६५ वर्ष पुगेका नागरिकलाई नि:शुल्क उपचार र मासिक १० हजार भत्ता।
- २०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी सरकारीकरण गर्ने।
- निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षकको तलब मासिक १ लाख।
प्रसाईंका यस्ता एजेन्डामा उनी पछिल्लो पटक आन्दोलन गरेको र सम्भवत; उनले नै माहौल सिर्जना गरेको राजसंस्था पुनर्स्थापनाको एजेन्डा समेटिएको देखिएन।
फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पोखराबाट वक्तव्य जारी गर्दै 'आफूलाई साथ दिन' आग्रह गरेका थिए।
त्यसपछि प्रसाईंले फागुन २५ गते पूर्वराजा शाहको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको गेटसम्म भिड जम्मा गरेका थिए। उक्त भिडले राजसंस्थाका पक्षमा माहौल सिर्जना गरेको त्यसबेला अर्थ लगाइएको थियो भने त्यसपछि पूर्वराजा शाहकै रणनीतिअनुसार राजावादी ४५ घटक एकै ठाउँमा उभिने परिस्थितिसमेत बनेको थियो।
तर चैत १५ गते तीनकुनेमा २ जनाको मृत्यु हुने गरी भएको हिंसात्मक प्रदर्शनपछि दुर्गा प्रसाईं सम्पर्कविहीन भए। उनलाई भारतको असमबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा पनि चैत १५ गते साँझपख पक्राउ परेका थिए। त्यसपछि क्रमश: यो आन्दोलनले गति लिन सकेन।
नवराज सुवेदी नेतृत्वमा सबै राजावादी दल र समूहलाई एकत्रित गरी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा गरे पनि एक साता पनि त्यो आन्दोलन टिकेन। राजावादी दल तथा घटकहरूले आन्दोलन अघि नबढ्नुमा एकअर्कालाई आरोपप्रत्यारोग गरिरहेका छन्।
हुँदाहुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवराज सुवेदीलाई पार्टी अनुशासन समिति अध्यक्षबाटसमेत हटाइदिएका थिए। सुवेदीले राजसंस्था पुनर्स्थापना आन्दोलनमा नेतृत्वलाई बाइपास गरेर संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए। राजावादी आन्दोलन मत्थर भएपछि सुवेदी राप्रपामै पुन: सक्रिय हुन खोजेका थिए तर लिङ्देनले त्यो ठाउँ दिएनन्। सुवेदीले चैत ४ गते आफूले राप्रपा परित्याग गरेको पनि बताएका थिए।
लामो समय हिरासत र केही समय कारागार बसेर अदालतको आदेशमा धरौटीमा छुटेका प्रसाईंले आफू राजावादी नभएको प्रतिक्रिया दिएका छन् भने राजसंस्था पुनर्स्थापना आन्दोलनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले धोका दिएको उनको भनाइ छ।
‘म हिजो पनि राजावादी होइन, यो चैत १५ गतेको आन्दोलन कसले बिगारेको तपाईंलाई थाहा छ? राजावादीहरूले हो। राजावादीहरू, एमाले र माओवादी मिलेर त्यो आन्दोलनलाई बिगारेका हुन्,’ प्रसाईंले भने, ‘म राष्ट्र र नागरिकको माया गर्ने मानिस हो, राजावादी होइन। राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन्।’
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र हिन्दु धर्मलाई राप्रपाले चुनावी एजेन्डा बनाएको र चुनावपछि छाड्ने गरेको परिस्थितिमा आफूले जतासुकै 'राजाको चर्चा हुने माहौल बनाइदिएको' दाबीसमेत गरे।
‘२०७९ फागुन १ देखि २०८१ चैत १५ गतेसम्म जतासुकै राजाको चर्चा हुने बनाइदिएको थिएँ, त्यसअघि राजा र धर्मलाई चुनावी एजेन्डा बनाइएको थियो,’ प्रसाईंले भने, ‘चैत १५ को आन्दोलनमा तीनकुनेमा प्रहरी ३०० मिटर पर थियो, राजाका ट्याटु खोपेकाहरूले पुलिसका अघि गएर लडाइँ गरे। यो आन्दोलन बिगारेको राजावादीहरू र राप्रपाले हो।’
उनले चैत १५ गते तीनकुनेमा संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणाका भूमिकाप्रति पनि असन्तुष्टि जनाए।
‘रवीन्द्र मिश्र र धवल शम्शेर राणा तीनकुनेमा कार्यक्रम हुनुभन्दा एक घन्टा अघि नै गएर मञ्चमा बसे। म त २ मिनेट पनि मञ्चमा बसिनँ। आन्दोलन भड्काउने उहाँहरू, तर यो आन्दोलन सबै दुर्गा प्रसाईंले गरेको हो, हामी त पाहुना गएको भनेर भन्नुभएछ,’ प्रसाईंले भने, ‘यसरी आन्दोलन हुन्छ त? यस्ता मानिससँग मिलेर राजनीति हुन्छ त? मान्छे मर्दैन?’
आफू हिरासतमा रहँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणाको गतिविधि हेरेको पनि उनले बताए। प्रसाईंले चैत १५ गते राप्रपा अध्यक्ष लिङ्देनले धोका दिएको पनि बताए।
‘चैत १५ गते धोका दियौं, राप्रपा मिलेर मलाई छुरी हानियो, म बाँच्न सफल भएँ, अब जीवनमै तिमीले धोका दिन सक्दैनौं,’ लिङ्देनलाई लक्ष्य गर्दै प्रसाईंले भने, ‘तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्ने सन्तान म होइन।’
उनले आफू राप्रपामा नजाने बताए। ‘एउटा जितेर के हुन्छ, २२ जना (रास्वपा) ले जितेर त केही भएको छैन। ०८४ हुन्छ कि ०८९ हुन्छ, तयारी गर्ने हो, धेरै सिट जित्नुपर्छ,’ उनले भने, ‘राप्रपासँग भिड्नु छैन।’
उनले आफूले नयाँ राजनीतिक दल खोल्ने र त्यो दल राजावादी दल नहुने प्रष्टाए। ‘राजावादी दल हुँदैन, राष्ट्रवादी दल हुन्छ, नेपाल र नेपालीका लागि, भुइँ मानिसका लागि दल हुन्छ,’ उनले भने।
आफू हिरासत र कारागार बसे पनि नगलेको उनको भनाइ थियो।
‘म कहाँ गलेँ? जेलबाट निकालिदेऊ, जेलमा सुख भएन भनेर मैले रोएको छु?,’ उनले प्रश्न गरे, ‘फेरि जेल जान तयार छु। तर अबको यात्रा राजनीतिक यात्रा हो। नयाँ तरिकाले अघि बढ्छौं। लोकतन्त्र हामीले ल्याएको हो।’
यो पनि: दोषजति दुर्गा प्रसाईंको टाउकोमा थोपरेर टक्टकिँदै पूर्वराजा ज्ञानेन्द्र र राजावादी!