उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरे।
उनले विभिन्न चरणका परीक्षणहरूमा पास भएर आएका पुराना राजनीतिक दलहरूलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरूले केही गर्न नसक्ने बताए।
उनले नेपाली कांग्रेस जनताबाट पटक पटक परीक्षण भएर आएको पार्टी रहेको बताए।
उनीहरूले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ? भन्दै प्रश्न गरे।
जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उनको भनाइ छ।
कांग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली कांग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै सन्तोषको सास फेर्न सकिने बताए।
उपप्रधानमन्त्री सिंहले भने, ‘नेपाली कांग्रेस पार्टी, नेपाली कांग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली कांग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै तपाईं हामीले सन्तोषको सास फेर्न सक्छौँ। होइन भने धेरै अप्ठेरो हुन्छ। समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ। २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस पार्टीलाई यत्रो परिवर्तन ल्याउन सफल भयो। अहिले पनि जनताले प्रश्न गर्दछ, नेपाली कांग्रेस पार्टीले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ? टेस्ट नै केही भएको छैन। हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ।’
उनले अगाडि भने, ‘पटक पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन् भने परीक्षामा केही भएकै छैन, तिनीहरूले मात्रै कुरा यहाँ हुने भयो भने यसरी देश कहाँ पुग्छ? २००३ मा स्थापना भई जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु कत्तिको तर्कसंगत हुन्छ। यसमा विचार गर्न जरूरी छ।’
उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताए।
जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरूरी रहेको बताए। –न्युज एजेन्सी नेपाल