नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चार वटा शक्तिले हमला गरिरहेको बताएका छन्।
एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाउँदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने उनले बताए।
एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।
पोखरेलले एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए।
‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइबर हमला गरिरहेका छन्। मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत् एमालेलाई कमजोर पार्न खोजिरहेका छन्। राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन्।’
एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमालेविरूद्ध खनिएको उनले बताए।
‘एमाले भएकै कारण राजावादीले जेठ १५ गतेदेखि सुरू गरेको अनिश्चितकालीन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमालेविरूद्ध खनिएका छन्। राजावादीको गालीबाट हामी बिचलित हुनुहुँदैन। उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौं।’
एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिष्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ।
नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी, समाजवादी र अन्य कम्युनिष्ट नामका पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको उनले बताए।
‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिष्टधारीहरू साइबर हमला गर्न आएका छन्,’ पोखरेलले भने, ‘तिनीहरू विदेशीका भरिया हुन्। कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरू एमालेविरूद्ध खनिएका हुन्। यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ।’
महासचिव पोखरेलले एमालेमाथि हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू भएको बताए।
‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन्,’ पोखरेलले भने, ‘किन भन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन्।’
महासचिव पोखरेलले एमालेका मूल नेता र प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई उनले निर्देशन दिए।
आज एउटा नेतालाई हमला गर्नेले भोलि अरूलाई नै बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरूलाई आजै निस्तेज पार्नुपर्ने उनको भनाइ छ।
‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको छ,’ पोखरेलले भने, ‘आजै यो कुरालाई निस्तेज नगरे भोलि अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ।’
उनले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरू राख्दा माथि उल्लेख गरिएका चारै वटा शक्तिहरूले आक्रमण गर्ने गरेको बताए।
यस्तो आक्रमणबाट कति पनि हतोत्साहित नहुन कार्यकर्तालाई उनले सम्झाए।
‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी, बिहे, पार्टी,पारिवारिक तस्बिर मात्र हालेको देख्छु,’ महासचिव पोखरेलले भने, ‘एमालेहरूले यसो गर्न सुहाउँदैन। आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ।’