संघीय लोकतान्त्रिक मोर्चाको बिहीबारको बैठक एजेन्डाहरू प्रस्तुत गरेर आइतबार बस्ने गरी सकिएको छ।
मोर्चा घटक दल राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले दिएको जानकारी अनुसार लाजिम्पाटमा बिहीबार भएको बैठकमा एजेन्डाहरू पेस भएको छ। अब आइतबार दिउँसो १ बजे बस्ने बैठकले ती एजेन्डाहरूबारे छलफल गर्नेछ।
नेता झाले दिएको जानकारी अनुसार बैठकमा रूपन्देही क्षेत्र न ३ को उपचुनाव, भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ लगायतका विषय एजेन्डाका रूपमा प्रस्तुत भएका थिए।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अध्यक्षता गरेको बैठकमा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, लालवीर चौधरी, अरूण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, सिएन थारु, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमतबाट अब्दुल खान, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन तथा तमलोपाका वृषेश चन्द्र लाल, ब्रज किशोर सिंह लगायतका नेताहरू सहभागी थिए।