झन्डै दुई साता एक-अर्कामाथि आक्रमण गरेपछि इरान र इसराइलबीच युद्धविराम घोषणा भएको छ।
मंगलबार इरान र इसराइलबीच युद्धविराममा सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि दुवै देशले एक अर्कामाथि हमला गरेका छैनन्। इरानी र इसराइलीहरूले दुई दिनदेखि चैनको निद्रा पाएका छन्।
यद्यपि युद्धविरामपछि पनि इरानीहरुलाई एउटा चिन्ताले अत्यन्त सताएको छ भनेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ।
त्यो चिन्ता इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अज्ञात अवस्थालाई लिएर भएको हो। युद्धविराम भए पनि उनी अझै सार्वजनिक भएका छैनन्। त्यसकारण उनी कहाँ छन्, कस्तो अवस्थामा छन्, घाइते छन् कि भन्ने चासोहरू जनमानसनमा सुनिन थालेको टाइम्सले जनाएको छ।
त्यतिमात्रै होइन उनी जिवितै छन् भन्नेबारेमा पनि मानिसहरुले शंका गर्न थालेको टाइम्सको समाचारमा उल्लेख छ।
इसराइलसँगको युद्धको एक सातापछि सर्वोच्च नेता खामेनी सुरक्षा चुनौतका कारण बंकरमा लुकेका थिए। उनी कहाँको बंकरमा छन् भन्ने पनि गोप्य राखिएको छ भने त्यहाँ उनको सम्पर्क अत्यन्त सीमित बनाइएको छ।
इरानमा महत्त्वपूर्ण निर्णयहरू सर्वोच्च नेताले नै गर्छ।
अमेरिकाले इरानका तीन परमाणु परियोजना; फर्दो, नतान्ज र इस्फहानमा सबभन्दा ठूलो बम हमला गरेपछि इरानले कतार र इराकस्थित अमेरिकी सैन्य अड्डामा जबाफी हमला गरेको थियो।
त्यसको भोलिपल्ट ट्रम्पले युद्धविराम घोषणा गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इसराइलले हमला रोके इरान युद्धविरामका लागि तयार हुने बताएका थिए।
यस्ता महत्वपूर्ण निर्णयमा खामेनी उपस्थितिको गुन्जायस नभएपछि आम नागरिकमा चासो बढेको छ।
'अमेरिकी सैन्य अड्डामा हमला, इसराइलसँग युद्धविरामजस्ता महत्त्वपूर्ण निर्णयमा खामेनीको कुनै सार्वजनिक भूमिका देखिएको छैन। न आधिकारिक वक्तव्य आयो, न त रेकर्ड गरिएको अडिओ/भिडिओ सन्देश नै,' न्युयोर्क टाइम्सले लेखेको छ।
यसो हुँदा इरानमा सरकारी अधिकारीदेखि नागरिकसम्म ठूलो चिन्ता फैलिएको टाइम्सले जनाएको छ।
मंगलबार इरानको सरकारी टेलिभिजनले खामेनीको कार्यालयका अभिलेख विभाग प्रमुख मेहदी फजाइलीसँग अन्तर्वार्ता गरेको थियो। सो अन्तर्वार्तामा प्रस्तोताले पनि फजाइलीसँग सोही प्रश्न गरे।
'जनता धेरै चिन्तित छन्। सर्वोच्च नेता कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ?,' प्रस्तोताले सोधे।
त्यसमा फजाइलीले स्पष्ट जबाफ नदिएको भनेर न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
'हामी सबै उहाँको लागि प्रार्थना गरौं। उहाँ सुरक्षित हुनुहुन्छ। तर अरू बताउन मिल्दैन,' फजाइलीले भने।
उनले थुप्रै उच्च अधिकारी र नागरिकहरूले पनि सर्वोच्च नेताको अवस्थाबारे चासो राखेको बताए।
'सर्वोच्च नेताको सुरक्षाप्रति जिम्मेवार अधिकारीहरूले आफ्नो काम राम्ररी गरिरहेका छन्,' फजाइलीले अगाडि भने।
इरानको खानेमान नामक दैनिक पत्रिकाका प्रधानसम्पादक मोहसेन खालीफेहले पनि यत्तिका दिनसम्म सर्वोच्च नेता सार्वजनिक नभएपछि देशभरि चिन्ता बढेको बताएका छन्।
'उहाँका अनुयायीहरू गहिरो चिन्तामा हुनुहुन्छ। यदी बित्नुभएको हो भने उहाँको अन्त्येष्टि ऐतिहासिक हुनेछ,' खालीफेहको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।
इरानमा सर्वोच्च नेताको सुरक्षा जिम्मेवारी देशको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)ले लिएको हुन्छ।
खामेनकी सुरक्षा सल्लाहकारसमेत रहेका आइआरजिसी कमान्डर हाम्जेह सफावीले भने इसराइलले अझै खामेनीको हत्याको प्रयत्न गर्ने सक्ने खतरा अझै कायम रहेकाले भएकाले उनलाई उच्च सुरक्षामा राखिएको बताएका छन्।
खामेनीलाई उच्च सुरक्षा घेरामा राखिएको र बाहिरी संसारसँगको सम्पर्क पनि अत्यन्तै सीमित बनाइएको भनेर सवाफीलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ।
'युद्धविराम भए पनि इसराइलले सर्वोच्च नेताको हत्या प्रयत्न गर्न सक्छ भन्ने आकलन छ। त्यसकारण देशलाई संकटबाट बाहिर निकाल्नका लागि व्यवहारिक दृष्टिकोण अपनाइएको छ। जसका लागि राष्ट्रपति मसुद पेजेस्कियन र अरू नेताहरूलाई सशक्त बनाइएको छ,' उनले भनेका छन्।
यद्यपि खामेनीले टाढैबाट पनि प्रमुख निर्णयहरूमा भूमिका खेलिरहेको सवाफीले बताएका छन्।
इसराइलले पहिलो दिन नै आइआरजिसीका प्रमुख मेजर जनरल हुसेन सलामी र यसका अरू वरिष्ठ अधिकारीहरूको हत्या गरेको थियो। त्यसपछि खामेनीले नियुक्त गरेका मोहम्मद पाकपोरले आइआरजिसीको नेतृत्व गरिरहेका छन्।
इसराइलको पहिलो दिनको हमलामा वरिष्ठ अधिकारीहरू मारिएपछि इरानको सरकारी सेना, आइआरजिसी र अरू सैन्य संगठनको चेन अफ कमान्ड नै धराशायी बनेको थियो। यसले सर्वोच्च नेता खामेनीको पनि हत्या हुनसक्ने खतरा पैदा भएको थियो।
इसराइलले त पहिलो दिन नै खामेनीको हत्या गर्न सक्ने परिस्थिती रहेको भनेर अमेरिकी राष्ट्रपति ट्रम्पसँग उनको हत्या गर्ने योजनासमेत सुनाएको थियो। ट्रम्पले तत्काल खामेनीको हत्या गर्न नहुने भनेपछि इसराइल पछि हटेको भन्ने सामाचारहरू सार्वजनिक भएका थिए।
पछि ट्रम्पले खामेनी सजिलै मारिन सक्छन् भनेर ट्रुथ सोसलमा पोस्ट लेखेका थिए।
ट्रम्पले बंकरमा लुकेका खामेनीको ठेगाना थाहा भएको तर अहिलेलाई उनलाई मार्ने कुनै योजना नरहेको पनि बताएका थिए।
'उनी लुकेको ठाउँ थाहा छ तर कम्तिमा अहिले मार्दैनौं। तर हाम्रो धैर्यताको बाँध टुट्दै गइरहेको छ,' ट्रम्पले लेखेका थिए। त्यसको तीन मिनेटमा उनले 'विनाशर्त आत्मसमर्पण' भनेर लेखेका थिए।
खामेनीले आफ्नो हत्या हुन सक्ने आकलनमा आफ्नो उत्तराधिकारी पनि छानेको समाचार सार्वजनिक भएका थिए। उनले नियमित प्रक्रियाबाट नभइ फास्ट ट्र्याकमा सर्वोच्च नेता छान्न विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट)लाई निर्देशन दिएका थिए।
खामेनीको अनुपस्थितिमा इरानको सत्तामा गुटबन्दी सुरू भइसकेको भनेर पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
टाइम्सले चार जना उच्च सरकारी अधिकारीहरुलाई उद्धृत गरेर सत्ता र निर्णय प्रक्रियामा प्रतिस्पर्धा सुरू भएको र यसमा राजनीतिक नेतादेखि सैन्य कमान्डरसम्म आ-आफ्नो गुट बनाएर प्रभाव जमाउने प्रयत्नमा रहेको बताएका छन्।
आणविक कार्यक्रमहरूलाई कसरी अघि बढाउने, अमेरिकासँगको सम्बन्ध कस्तो बनाउने र इजरायलसँगको तनाव कसरी हल गर्ने भन्ने विषयमा सबै धारणा फरक फरक रहेको पनि ती अधिकारीले टाइम्सलाई बताएका छन्।
तर अहिलेका लागि कूटनीति र संयमता अपनाउने पक्ष बलियो देखिएको ती अधिकारीहरूको भनाइ छ। यसमा राष्ट्रपति पेजेस्कियनलाई न्यायालय प्रमुख गोलाम-हुसैन मोहसेनी-एजेइ र सेनाका नवनियुक्त कमाण्डर मेजर जनरल अब्दुलरहीम मुसावीले साथ दिएका छन्।