राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीसँग २५ हजार रुपैयाँ धरौटी माग भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बुधबार उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
उनले धरौटी बुझाएर छुटेका छन्।
यस्तै अदालतले उनलाई असार २९ गते बकपत्रका लागि बोलाएको छ।
केसीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापुत्र जयवीर देउवाले हिल्टन होटलको सेयर किनेकोबारे फेसबुकमा स्टाटस लेखेका थिए।
तर हिल्टन होटलले विज्ञप्ति निकालेर कसैले पनि सेयर खरिद नगरेको उल्लेख गरेको।
त्यसपछि साइबर ब्युरोले गत जेठ २ गते उनलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न म्याद अनुमति समेत लिएको थियो।
तर उनलाई पक्राउ गर्नुपर्ने कारणबारे भने साइबर ब्युरोले खुलाएको थिएन। ब्युरोले केसीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको दाबी सहित हिरासतमा लिएको थियो।
त्यसविरूद्ध उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सर्वोच्चले उनलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
त्यस्तै जेठ २९ गते उनीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दा दायर गरेपछि केसी अदालतमा हाजिर भएका हुन्।