ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कर्मचारीहरूको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्।
मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आलोचना गरेका हुन्।
उनले कर्मचारीको कामप्रति समर्पण नदेखिने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
मन्त्री खड्काले समयमै सुधार नगरे हालको ढिलासुस्तीले देशलाई जटिल मोडमा पुर्याउने चेतावनी दिए।
उनले व्यक्तिगत जिम्मेवारीबारे आत्मसमीक्षा गर्न पनि कर्मचारीहरूलाई सुझाव दिए।
मन्त्री खड्काले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि कार्यसम्पादनको सन्दर्भमा खासै प्रगति नदेखिएको गुनासो गरे।
उनले काममा प्रतिबद्धता, परिणाममुखी सोच र स्वाभिमानी जिम्मेवारी निर्वाह गर्न कर्मचारीहरूलाई आग्रह समेत गरे।
उनले भने, ‘तपाईंहरू लामो समयदेखि यहीँ काम गरेको कर्मचारी साथीहरू हुनुहुन्छ। यस्ता बजेट र खर्चहरू तपाईंहरूले पटक पटक हेरिसक्नुभयो। सुधार गर्ने ठाउँमा तपाईंहरू हुनुहुन्छ। तपाईंको जिम्मेवारीप्रति प्रश्न गरिराख्नुपर्ने कत्तिको मजाकको कुरा होला। आफैले आफैलाई बेलुका यसो सुतेर मेरो मातहतमा के भयो भनेर सम्झिनुभयो भने के भन्नुहुन्छ, आफैलाई? यस्तो खालको अवस्थाले देशलाई कहाँ पुर्याउँछ? आफ्नो काम के हो? आफ्नो लगाव के हो? उपलब्धि कसरी हासिल गर्ने भन्ने कुरामा ध्यान नदिने अनि भन्न पनि अप्ठेरो क्या। विदेश जाने भनेपछि आज आइहाले पनि भोलिपल्टै भए गइहाल्ने जस्तो छ, रिफ्रेसमेन्टमा हामी हिँडिरहने प्रगति चाहिँ नहुने। एक दुई जनाले मरेर काम गरिराखे पनि प्रगतिको हिसाबले एउटै डालोमा पर्ने, म पनि यहीँ डालोमा पर्ने भए, सचिवहरू पनि यहीँ डालोमा पर्ने, यो काँनिरको ल्यापसेस हो त हो? के सुधार गर्नुपर्ने भो? यसरी हामी कहाँ पुग्छौँ त? यो गम्भीर प्रश्न छ।’
उनले चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बताए।
उनले प्रतिबद्धता र लक्ष्य अनुरूप कार्यसम्पादन हुन नसक्नु पनि चिन्ताको विषय भएको जिकिर गरे। – न्युज एजेन्सी नेपाल