विवेकशील साझा पार्टीले सहकार्य र ध्रुवीकरणलाई अघि बढाउने भएको छ।
समान विचार भएका व्यक्ति, समूह, अभियान, संस्था र दलहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको भएको हो।
५ सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन्।
हालै सम्पन्न केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढीरहेका बेला समान विचार भएका दल, समूह र अभियानकर्मीको बृहत ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्मको आवश्यकतालाई केन्द्रमा राखी 'मिसन ८४' लाई सफल बनाउन राजनीतिक संवाद समिति गठन गरेको पार्टीले जनाएको छ।
समितिले राजनीतिक छलफल, भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सकृय अभ्यासमा ल्याउन पहलकदमी गर्दै 'अल्टरनेटिभ्स अलाईन्स' मा काम गर्ने पार्टीका कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले बताए।