चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर राणा पहिलो पटक प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक करिब ५ मिनेट बस्यो। त्यस बैठकमा राप्रपा सांसद राणा पनि उपस्थित भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएका छन्। उक्त माग अनुसार रास्वपाले मंगलबार पनि वेल घेराउ गरी नाराबाजी गरेका थिए।
यही विषयमा राप्रपाले पनि रास्वपालाई समर्थन गर्दै विरोध जनाउँदै आएको छ। राप्रपाले आइतबार र सोमबारको बैठक नै बहिष्कार गरेको थियो।
मंगलबार विरोध जनाउँदा तीनकुने घटनापछि पहिलो पटक उपस्थित भएका सांसद राणाले पनि उभिएर विरोध जनाएका हुन्।
उनलाई तीनकुने घटनामा प्रहरीले चैत १५ गतेनै पक्राउ गरेको थियो। उनीविरूद्ध राज्य विरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित कसुरमा अनुसन्धान गरेको थियो।
त्यसबीच उपचारका लागि भनेर उनलाई सरकारी वकिलको सहमतिमा वेशाख ७ गते हाजिर जमानीमा छाडिएको थियो। उनीमाथि अनुसन्धान भइरहेकोबारे प्रहरीले संघीय संसद सचिवालयलाई पनि जानकारी गराएको थियो।
उनी निलम्बित भने थिएनन्। त्यसो हुँदा संसद जान उनलाई रोकतोक थिएन।
राप्रपाका नेताहरूका अनुसार हाजिर जमानीमा रहँदा पनि प्रहरीको नियन्त्रण/निगरानी सरह नै रहेको हुँदा उनी संसदमा उपस्थित भएका थिएनन्।
जेठ ११ गते प्रहरीले उनीसहित ६१ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। तर राणा उपस्थित भएनन्।
उनी सोमबार मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए।
उनलाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेशपछि गएराति नै उनले धरौटी बुझाएका थिए।
मंगलबार भने उनी संसदमा हाजिर भएका हुन्।