महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन्।
मंगलबार बिहान नगरपालिकामा जाँदा नगर प्रहरीले प्रवेश गर्न रोकेको उपमेयर महतोले बताइन्।
नगर प्रहरीले मेयर दिपेन्द्र महतोको आदेशले आफू गेटमै रोकिनु परेको उनले जानकारी दिइन्।
‘मेयरको आदेशले प्रवेश गर्न नदिनु भन्नुभएको छ भनेर रोकेका थिए,’ उनले भनिन्, ‘पछि म नगरपालिका प्रवेश गरी कार्यकक्षमा आएँ। तर मेरो कार्यकक्षमा पनि ताला लगाएका रहेछन्। बाहिर एउटा कुर्सीमा बसिरहेको छु।’
उनले आफूलाई मेयर दिपेन्द्र महतोले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएकी हुन्।
‘आज कार्यपालिका बैठक बिहान ८ बजेका लागि बोलाइएको थियो। धेरैजसो ढिला गरी सुरू हुने भएकाले आज मेरो पनि कार्यव्यस्तताले ढिला गरी आउन पुगेँ,’ उनले भनेकी छन्, ‘मेन गेटमा लक गरिएको छ। उपप्रमुखलाई
नगर प्रमुखले भित्र प्रवेश गर्न नदिन भनेर आदेश गर्नुभएको रहेछ।’
वडामा अस्थायी योजनामा सम्झौता नगरी काम गरेको भनेर गुनासो आएपछि आफूले त्यसबारे अधिकृतसँग बुझ्न खोजेको पनि बताइन्।
तर अधिकृतले पनि आफ्नो कुरा नसुनेको उनको भनाइ छ। यस्तै फोन नउठाएको र अनुगमनमा हिँड्न पनि नमानेको उनले बताएकी छन्।
सोमबार उनले दर्ता चलानी किताब नियन्त्रणमा लिएकी थिइन्। त्यही कारण आफूलाई मंगलबार प्रवेश गर्न नदिइएको उपमेयर महतो बताइन्।
‘गलत कुरा र अनियमितताबारे विरोध गर्दा आज यस्तो अवस्था आएको छ, म गेटमै रोकिनुपरेको छ,’ उनले भनिन्।
उपमेयरलाई गेटमै रोकिएकोबारे बुझ्न खोज्दा मेयर दिपेन्द्र महतोसँग सम्पर्क हुन सकेन। उनले प्रयोग गर्ने माेबाइल नम्बर पनि स्विच अफ् छ।