सप्तकोशीमा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी हेडक्वार्टरमा जाँदैछन्।
गृहमन्त्री लेखक शुक्रबार बिहान सिंहदरबारबाट घटनाबारे ब्रिफिङ लिन हेडक्वार्टर गएको सचिवालयले जनाएको छ। उनीसँगै प्रतिनिधि सभाको राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा पनि हलचोक पुगेका छन्।
हाल सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल नेपालमा छैनन्। मन्त्री लेखकले कार्यवाहक संगठन प्रमुख एवं एआइजी नारायणदत्त पौडेलबाट घटनाबारे ब्रिफिङ लिनेछन्।
बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।
शुक्रबार बिहान हरदेव राजवंशीको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। बेपत्ता रहेका अर्का एक जनाको खोजी भइरहेको उनले बताए।
दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए।
खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाइ बिहीबार राति नै त्यसतर्फ पठाइएको थियो।