नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा शुक्रबारबाट सुरू भएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महाअधिवेशनको उद्घाटन गरेका हुन्। महाधिवेशन ११ दिनसम्म चल्नेछ।
१० औं राष्ट्रिय महाधिवेशनले दुई वर्षका लागि युवा संघको नयाँ नेतृत्व चयन गर्नेछ।
नेकपा (एमाले) को पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ।
संगठनका अध्यक्ष क्षितिज थेवे अधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेका छन्। महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले पनि अध्यक्षमा आकांक्षा देखाएका छन्।
महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ।
परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ।
महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा छ।
युवा संघका महासचिव सुमन पुरीकाअनुसार महाधिवेशनमा करिब १ हजार ८ सय ३४ जनासम्म प्रतिनिधि हुनेछन्।
आगामी नेतृत्वका लागि आकांक्षी बढे पनि पार्टी नेतृत्वले भने प्रतिस्पर्धा चाहेको छैन। फागुन यता अधिवेशन भएका १० वटा जनसंगठनमा कतै पनि निर्वाचन भएन। अधिवेशन भएका सबै जनसंगठनमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।