पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा जाँदैछिन्। चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार साँझ चीन प्रस्थान गर्न लागेकी हुन्।
राष्ट्रपतिको कार्यकाल सकिएपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
नेकपा एमालेका सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, एमाले नेताहरू गोमा देवकोटा, भेषराज अधिकारी र पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भण्डारी चीन जान लागेकी हुन्।
उनी दस दिन चीन भ्रमणमा रहने छिन्। भ्रमणका क्रममा भण्डारी महत्त्वपूर्ण द्विपक्षीय राजनीतिक भेटघाट र संवादमा सरिक हुने स्थायी कमिटी सदस्य कर्ण थापाले जानकारी दिए।
'चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा उहाँ चीन जान लाग्नुभएको हो। भ्रमणमा रहँदा उहाँले एउटा महत्त्वपूर्ण राजनीतिक गोष्ठीमा मन्तव्य दिनुहुनेछ। त्यो गोष्ठीमा नेपालका अतिरिक्त चीनले अन्य छिमेकी मुलुकका महत्त्वपूर्ण राजनीतिक व्यक्तित्वहरूलाई आमन्त्रण गरेको छ। उहाँ त्यो कार्यक्रमको प्रमुख अतिथि र वक्ता पनि हो,' थापाले भने।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा २०७६ असोज २५ गते चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका थिए। भोलिपल्ट स्वदेश फर्किएका थिए।
'यसबाट पनि चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकारसँगको पूर्वराष्ट्रपतिज्यूको सम्बन्ध थाहा हुन्छ। उहाँलाई चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले महत्त्वका साथ लिएको हामीले पाउँछौं। अहिलेको भ्रमण पनि नेपाल–चीन सम्बन्धको आयाम विस्तारकै महत्त्वपूर्ण कडीका रूपमा बुझ्नुपर्छ,' थापाले भने।
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागबीच पनि छलफल र अन्तर्क्रियाको आयोजना गरिएको थापाको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारी जेठ १९ गते स्वदेश फर्किने कार्यतालिका छ।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाउन खोजेको चर्चा छ।
त्यसो त उनले गण्डकी, कोशी, लुम्बिनी लगायत प्रदेश पुगेर एमालेका नेता–कार्यकर्तासँग भेटघाट, छलफल समेत गरेकी थिइन्।
उनले एमालेमै फर्किने इच्छा व्यक्ति गरिरहेकी छन् भनेर चर्चा भइरहँदा उनको यो विदेश भ्रमणलाई पनि अर्थपूर्ण रूपमै लिनुपर्ने एमालेका नेताहरूले बताएका छन्।