राजसंस्था पुनर्स्थापनाको मुख्य एजेन्डा बोकेर राप्रपासहित दल तथा समूहहरूको सहयोगमा गणतन्त्र दिवसकै दिन जेठ १५ गतेदेखि ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’को घोषणा गरेको छ।
आन्दोलनको तयारी तीब्र बनाउँदा समितिले आफ्ना पूर्व ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई भने चटक्कै बिर्सिएको छ। खासमा बिर्सिएको भन्दा पनि रणनीतिक रूपमा उनलाई पन्छाइएको हो।
चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुने गरी भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी प्रसाईंको टाउकोमा हालेर राजावादीहरू अर्को आन्दोलनको तयारी गर्नेतर्फ अग्रसर छन्।
प्रसाईं भने प्रहरी हिरासतमा छटपटिरहेका छन्। आफूलाई ‘धोका’ दिइएको बताइरहेका छन्।
जबकि पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रलाई राजसत्ता फर्किन्छ कि भन्ने आश जगाइदिने पहिलो व्यक्ति प्रसाईं नै हुन्।
मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा केही वर्षदेखि राजसंस्थाका पक्षमा चहलपहल सिर्जना गरेका थिए।
राजसंस्था स्थापनाको एजेण्डा बोकेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्रीका रूपमा सहभागी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह रिसले चुर भएका थिए।
त्यही भएर झापामा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रको स-परिवार संलग्न भए। गणतन्त्र आएपछि कुनै पनि राजनीतिक कार्यक्रममा पूर्वराजा सार्वजनिक रूपमा पहिलो पटक त्यही कार्यक्रममा सहभागी भएका थिए।
त्यसपछि नै सडक आन्दोलनतिर लतारिएका हुन्- राप्रपालगायत राजसंस्थावादी दलहरू।
राजसंस्था पुनर्स्थापनाका लागि प्रसाईंकै आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भयो भने निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालयमा आगजनी भए।
आयोजकमध्ये कसैले पनि त्यो घटनाको नैतिक जिम्मेवारी लिएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै तीनकुने घटनाका दोषीलाई कारबाही दायरामा ल्याइने बताए, सँगसँगै उक्त घटनाको जिम्मा कसैले नलिएकोमा कटाक्ष गरे।
‘चैत १५ गतेको वितण्डाको आयोजक को थियो, अहिले होकी माइबाप निस्कँदैन त्यो दिनको घटनाको। बेवारिस। जन्माउने को हो? मातापिता को हुन् पत्तो छैन। तपाईं हो भन्दा म त होइन भन्छ, तपाईं हो भन्दा म त होइन भन्छ। के ती घर आफै दशा लागेर जले? के ती घर त्यो जडिबुटीको औषधि कारखाना दिक्क लागेर अब जल्छु भनेर आत्मदाह गरेको हो त्यसले? त्यत्रो गरेको छ त, मान्छे को हो यो चाहिँ २७० ले भन्दैन/दिँदैन,’ प्रधानमन्त्री ओलीले वैशाख २८ गते प्रतिनिधि सभामा बोल्दै भने।
कतिपय सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताइरहेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह भने सो घटनापछि लामो समयसम्म मौन रहे। नयाँ वर्षका अवसरमा चैत ३१ गते वक्तव्य जारी गर्दै उनले भनेका थिए, ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ।’
यस घटनाको मुख्य जिम्मेवार अहिले प्रहरीले दुर्गा प्रसाईंलाई बनाएको छ। घटनालगत्तै फरार रहेका उनलाई प्रहरीले चैत २९ गते भारतबाट झिकाएर अदालतको अनुमतिसहित अनुसन्धान गरिरहेको छ। प्रसाईंले तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याएका थिए भने प्रदर्शन उग्र बनेपछि फरार भएका थिए। उनलाई ज्यान मुद्दासहित राजद्रोह लगायतमा मुद्दा सिफारिस गर्ने तयारी प्रहरीको छ।
तीनकुने कार्यकर्मको नेतृत्व गर्न पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलनको कमाण्डर दुर्गा प्रसाईंको हातमा थमाएका थिए। उनी पक्राउ परेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंलाई नेतृत्व दिने आफ्नो भूमिकाबाट पन्छिन खोजेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहकै इच्छाअनुसार ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदी नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ बनेको थियो। २०८१ चैत ४ गते सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टलाई सदस्य राखिएको थियो।
तर उनीहरू तीनै जनाले उक्त समिति सदस्य बस्न अस्वीकार गरे।
सुवेदी संयोजक रहेको समितिमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए भने महामन्त्री धवल शम्शेर राणा आन्दोलन परिचालन समितिमा थिए।
राजावादीहरू राजा ल्याउने आन्दोलन गर्न हौसिएका फागुन २५ गतेको प्रदर्शनबाट हो।
दुर्गा प्रसाईंले नै फागुन २५ गते पूर्वराजा पोखराबाट काठमाडौं आउँदा समर्थकहरू जुटाएर प्रदर्शन गरेका थिए।
उक्त कार्यक्रमलाई राप्रपा र राप्रपा नेपाल लगायतले समर्थन गर्नु परेको थियो। यतिमात्र होइन, पूर्वराजा चार्टर विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लदा विमानस्थल गेटनजिकै पुगेर राप्रपा र राप्रपा नेपालकै शीर्ष नेताहरूले स्वागत गरेका थिए।
फागुन २५ गते पूर्वराजा शाह काठमाडौं आउँदा भेला भएका समर्थकहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
फागुन २५ को भिडबाट उत्साही भएर दुर्गा प्रसाईंले चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा राखे। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ के कार्यक्रम गर्ने, कहाँ कार्यक्रम गर्ने भन्ने रणभुल्लमा थियो। राजावादी दल र राजावादी नेताहरूलेनै उनलाई सहयोग नगरेपछि त्यो समितिको औचित्य लगभग सकिएको अवस्थामा पुगेको थियो।
चैत १५ गतेको प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहले संयोजक सुवेदी र प्रसाईंलाई निर्मल निवासमा बोलाएर बेग्लाबेग्लै भेटे। सुवेदी र प्रसाईं निर्मल निवास छिरेर फर्केको प्रहरीको सिसिक्यामेरामा कैद छ।
पूर्वराजाले सुवेदी र प्रसाईंलाई भेटेकै दिन ‘संयुक्त जनआन्दोलन समिति’ ले प्रसाईंलाई ‘जनकमाण्डर’ घोषणा गर्यो। त्यो किन र कसका कारण गरियो बुझ्न कठिन छैन।
पूर्वराजाकै इच्छाअनुसार प्रसाईं ‘जनकमान्डर’ बने। चैत १५ को आन्दोलनलाई राप्रपाले विज्ञप्ति निकालेरै समर्थन जनायो, कार्यकर्तालाई सहभागी हुन निर्देशन दियो।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शम्शेर राणालगायत तीनकुने पुगे। बुद्धिमान तामाङ भने तीनकुने पुग्नेबित्तिकै फर्केका थिए। तीनकुनेको मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंको बराबरको फोटो देखेपछि आफू फरक्क फर्केको कुरा तामाङले संसदीय समितिमै सुनाएका थिए।
राप्रपाले विज्ञप्ति निकालेरै प्रसाईंको आह्वानमा भएको प्रदर्शनमा समर्थन जनाए पनि अध्यक्ष राजेन्द्र लिङ्देन भने तीनकुने गएनन्। तीनकुनेमा हिंसात्मक प्रदर्शन भएपछि चैत १५ गते बेलुकी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई प्रहरीले पक्राउ गरेको थियो।
स्वास्थ्य उपचारका लागि समय माग गरेपछि प्रहरीले वैशाख ७ गते धवल शम्शेर राणालाई हाजिरी जमानीमा छाड्यो। उनी वैशाख १० गते मुम्बई गएर चार दिनमै स्वदेश फर्किएर राजनीतिक कार्यक्रमहरूमा भाग लिन थाले।
तर ५० दिन हिरासत बसेपछि रवीन्द्र मिश्र छुटे। बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतको आदेशपछि मिश्र जेठ २ गते हाजिरी जमानीमा छुटेका हुन्।
प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरेको थियो। उनको रिहाइ माग गर्दै राप्रपाले सरकारलाई अल्टिमेटम दिनेदेखि आन्दोलन गर्ने र समर्थकहरूबाट जावलाखेलमा रिले अनशनसमेत भएको थियो।
राप्रपाले दुर्गा प्रसाईंको रिहाईको माग औपचारिक रूपमा गरेको छैन।
प्रहरीले प्रसाईंलाई ज्यान मुद्दासहित पाँच वटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिने तयारी गरेको छ। प्रहरीले तीनकुने घटनामा मुख्य दोषी दुर्गा प्रसाईंलाई बनाएको छ। प्रसाईंविरूद्ध पत्रकार सुरज रजकको मृत्यु भएको घटनालाई लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने कसुरमा पनि मुद्दा चलाउन राय दिन लागेको हो।
एभिन्युज टिभीका पत्रकार रजकको चैत १५ गते तीनकुनेमा आगजनी भएको घरमा जलेर मृत्यु भएको थियो।
यसबाहेक प्रहरीमाथि गाडी चलाएको भन्दै प्रसाईंविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८३ अन्तर्गत ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पनि मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ। साथै आपराधिक उपद्रव र संगठित अपराधमा समेत मुद्दा चलाउन प्रहरीको राय छ।
प्रसाईंले तयार पारेको अनवरत तत्पर फौज (एटिएफ) पनि तीनकुने घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ। उनीमाथि ज्यान मुद्दासहित राजद्रोहको पनि मुद्दा लगाउने तयारी प्रहरीले गरिराख्दा पूर्वराजा ज्ञानेन्द्रकै पहलमा सबै राजावादीहरू फेरि नवराज सुवेदीको नेतृत्वमा एकत्रित भएका छन्।
सुवेदीकै नेतृत्वमा ‘जनआन्दोलन’ गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहमत भएका छन्।
चैत १५ को प्रदर्शनअघि ‘जनकमान्डर’ प्रसाईंलाई हस्तान्तरण गरेका नवराज सुवेदी पनि हिरासतमा रहेका प्रसाईंलाई भेट्न अहिले पुगेका छैनन्। आन्दोलन समितिका सल्लाहकार तथा केही समय कार्यवाहक संयोजक रहेका जगमान गुरूङ पनि पुगेका छैनन्।
तीनकुने घटनामै संलग्न रहेको आरोपमा हिरासतमा राखिएका बेला रवीन्द्र मिश्र र धवल शम्शेर राणालाई भने राजेन्द्र लिङ्देन र कमल थापाले भेटेका थिए।
हिरासतमा रहेका दुर्गा प्रसाईंले आफूलाई पहिले अघि सारेर अहिले राजावादीहरूले एक्लाएको महसुस गर्न थालेका छन्।पूर्वराजा ज्ञानेन्द्रले प्रसाईंलाई आफूले नभेटेको र उनलाई जनकमाण्डर पनि नबनाएको भनाइ राप्रपाका नेताहरूमार्फत सार्वजनिक गरेका छन्। प्रसाईं त्यसले पनि मर्माहात भएका छन्।
कान्तिपुरसँगको कुराकानीमा प्रसाईंले पूर्वराजा शाहलाई भेटेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन्। कान्तिपुरसँग जेठ ६ गते प्रसाईले भनेका छन्, ‘म (पूर्व राजालाई) भेट्न जाँदा देख्ने मानिस पनि होलान् नि!’
आफू लोकप्रिय हुँदै गएपछि राप्रपा र एमालेले आफूलाई फसाएको दाबीसमेत प्रसाईंले गरेका छन्।
‘म जनतामाझ पपुलर हुँदै थिएँ, राजतन्त्रको मुद्दा स्थापित गर्दै थिएँ, त्यही कारण मलाई उनीहरूले आफ्नो डिजाइनमा पारेर फसाए, उनीहरूको उद्देश्य मलाई सिध्याउने थियो र हो,’ प्रसाईंले भनेका छन्।
प्रसाईं र राप्रपाबीच केही समयदेखिनै पूर्वराजाको आर्शीवाद कसलाई प्राप्त छ भन्ने देखाउने प्रतिस्पर्धाजस्तो चेलको थियो।
झापामा भएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र सहभागी भएपछि हौसिएका प्रसाईंले बैंक र लघुवित्तको ऋण विभिन्न कारणले नतिरेका वा तिर्न नसकेका नागरिकहरूलाई पनि राजावादी आन्दोलनमा जोड्न थालेका थिए।
प्रसाईंले लघुवित्त पीडितहरूलाई अभियानमा जोडे र काठमाडौंलगायत विभिन्न ठाउँमा प्रदर्शन गरे। विगत ६ महिनायता अरू एजेन्डा थाती राखेर प्रसाईंले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा गतिविधि गर्न थालेका थिए। त्यसले पूर्वराजा ज्ञानेन्द्रलाई पनि हौस्याएको थियो।
२०८१ फागुन ७ को प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले वक्तव्य जारी गर्दै जनताको साथ खोजेका थिए। राजसंस्थाको एजेन्डा बोकेका प्रसाईं यसपछि पूर्वराजाको स्वागतका लागि जुटे। लामो समय पोखरा बसेर पूर्वराजा शाह फागुन २५ गते काठमाडौं फर्केका थिए।
पूर्वराजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न समर्थकहरू भेला भएका थिए। २०६५ मा देशमा गणतन्त्र घोषणा गरेपछि नारायणहिटीबाट बाहिरिएका पूर्वराजाले सायद यति ठूलो स्वागत पाएका थिएनन्।
पूर्वराजा शाहले गाडीबाट हात बाहिर निकालेर समर्थकलाई अभिवादन गरेका थिए भने सोही शैली अपनाएका थिए- दुर्गा प्रसाईंले।
पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए। तर कार्यक्रम प्रसाईंको आह्वानमा भएको थियो। तैपनि राप्रपाले पूर्वनिर्धारित आमसभा नै रोकेर कार्यकर्ताहरूलाई पूर्वराजाको स्वागतमा जान भनेको थियो।
पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा धेरै समर्थक भेला भएको र जस भने राप्रपाले लिन खोजेकोमा त्यसबेलै प्रसाईंले असन्तुष्टि जनाएका थिए।
राप्रपा र राप्रपा नेपालले पदाधिकारी बैठक गरेरै पूर्वराजाको स्वागत सफलतापूर्वक सकिएको र नवीन समझदारी गर्न दलहरूलाई अपिल गरेका थिए भने आन्दोलनका लागि संयुक्त मोर्चा बनाउन भनेका थिए।
यो निर्णयले प्रसाईं रिसाए।
उनले चैत २७ गते निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी राजसंस्थाको पक्षमा माहौल बनेपछि लिङ्देन र थापाले जस लिन खोजेको आरोप लगाए।
‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो। राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाईं आउनुपर्यो हामीसँग मिल्नुपर्यो। उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ,’ प्रसाईंले कटाक्ष गरेका थिए।
गणतन्त्रपछि राप्रपा सरकारमा गएको विषय उप्काउँदै प्रसाईंले लिङ्देन र थापाले गणतन्त्रको भोज खाएको पनि टिप्पणी गरेका थिए।
‘म संगत गर्दा राजाको गर्छु, आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु, गोठालाहरूसँग सडकमा गएर नाटक देखाउँदिनँ,’ प्रसाईंले भनेका थिए, ‘यो कुरा सबैलाई हेक्का रहोस्। म कसैको गोठालो होइन। राजाले पनि धैर्य भएर सोच्नुहोला। तपाईंले कलियुगमा दुर्गा प्रसाईंजत्तिको अर्जुन भेट्टाउनु हुन्न। तपाईंले सारथीहरू देखिसक्नुभयो। गणतन्त्रमा जाने भोज खाने, केपी शर्मा ओलीसँग फोन गर्ने, माहोल बन्यो भनेदेखि परिहाल्छ कि भनेर ढोक्सा थाप्ने।’
यसअघिसम्म राप्रपा अध्यक्ष लिङ्देनले प्रसाईंलाई खासै भाउ दिएका थिएनन्। प्रसाईंले लघुवित्त पीडितहरूका लागि भन्दै गरेको आन्दोलनका बेला लिङ्देनले प्रसाईंप्रति कटाक्ष गर्दै बैंकको ऋण नतिर्नेले गरेको आन्दोलनमा आफू सहभागी नहुने बताएका थिए।
तर चैत १५ को घटनामा संलग्न रहेको आरोपमा प्रसाईं हिरासत रहेका बेला नवराज सुवेदी नेतृत्वमै आन्दोलन गर्न लिङ्देन र थापाहरू तयार भएका छन्। यसले गर्दा आफूलाई राजावादी आन्दोलनबाट पर धकेल्न राप्रपालगायत दल नै सक्रिय रहेको प्रसाईंलाई परेको छ।
तीनकुने घटनाको दोषजति आफ्नो टाउकोमा खर्लप्प हालेर राजावादीहरू आन्दोलनतिर होमिन खोजेका छन् भन्ने कुरा प्रसाईंलाई लागेको छ।
राजावादीहरूलाई नवराज सुवेदीकै नेतृत्वमा हिँडाउन पूर्वराजा ज्ञानेन्द्र शाहको पनि भूमिका देखिन्छ।
वैशाख ५ गते निर्मल निवासमा राप्रपाका ७ नेतासँग लन्च मिटिङ र १२ दिनसम्म नगरकोट बसेर राप्रपा र राप्रपा नेपालका अध्यक्षसहित नेताहरूसँग कुराकानी गरेर अन्तत: राजावादीहरूलाई एकै मोर्चामा ल्याउन पूर्वराजा सफल भएका छन्।
यति मात्र होइन, पूर्वराजा शाहले बिहीबार (जेठ ८ गते) काठमाडौंको सोल्टी होटलमा नवराज सुवेदी, राजेन्द्र लिङ्देन, कमल थापा र केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेका छन्। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो।
यो पनि: पूर्वराजाले राप्रपाका ७ नेतालाई निवासमा बोलाएर गरे 'लञ्च मिटिङ'
निर्मल निवासमा भएको लन्च मिटिङमा राप्रपा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अघि सारिएकोमा असन्तुष्टि व्यक्त गर्दा पूर्वराजाले आफूले उनलाई अघि नसारेको र भेट नभएको वर्षौं भइसकेको दाबी गरेको राप्रपाकै नेताहरूले बताएका थिए।
तर घटनाक्रमले पूर्वराजाले नै सुवेदीलाई अघि सारेको र सबै राजावादीलाई उनकै नेतृत्वमा आन्दोलनमा होमिन तयार पारेको देखाउँछ। राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई र नवराज सुवेदी आन्दोलनको मोर्चामा मोहरा भए पनि खासमा यस्ता गतिविधि ज्ञानेन्द्र शाह राजा बन्नकै लागि भइरहेका हुन्।
पूर्वराजाले नगरकोटमा त्यस्तो के भने, त्यसपछि राजेन्द्र लिङ्देन पनि नवराज सुवेदीकै नेतृत्वमा आन्दोलनमा जान सहमत हुने मात्र होइन, सुवेदीसँगै बैठकहरूमा देखिन थालेका छन्।
यो पनि: पहिला नमानेका राजावादीहरू नवराज सुवेदीकै नेतृत्वमा एकत्रित हुन कसरी भए सहमत?
जेठ १५ गतेदेखि हुने आन्दोलनमा सडकमा मानिस उतार्न उनले ‘घरमा चाबी लगाएर परिवारका सबै सदस्य आउन’ समेत भनिसकेका छन्। सुरूमा ‘संयुक्त जनआन्दोलन समिति’ सदस्यनै बस्न नमानेका लिङ्देन अहिले उक्त समितिले घोषणा गरेको कार्यक्रमलाई अंगीकार गर्दै हिँडेका छन्।
जबकि ‘संयुक्त जनआन्दोलन समिति’मा रवीन्द्र मिश्र र धवल शम्शेर क्रियाशील हुँदा उनले धवल शम्शेरको भूमिका खुम्च्याएर आफ्नै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गराएका थिए भने कुनै अभियानमा पार्टीका नेता सहभागी रहे स्वत: पद जाने निर्णय स्मरण गराएका थिए। अहिले आफ्नै भूमिका खुच्याउने गरी सुवेदी नेतृत्वमा आन्दोलनमा होमिन लिङ्देन दिनहुँजसो छलफलमा छन्।
पूर्वराजासँग को निकट भन्ने प्रतिस्पर्धामा दुर्गा प्रसाईंभन्दा पछि परेको राप्रपा र ज्ञानेन्द्र शाहलाई चैत १५ गतेको घटनाले फेरि एकपटक सँगै उभ्याएको छ।
आफ्नो सजिलो र स्वार्थका लागि दुवैले अहिले प्रसाईंलाई बिर्सिएका छन्।
चैत १५ गतेको दोषजति सबै उनको टाउकोमा हालेर नयाँ आन्दोलनमा होमिनु राप्रपाका लागि सजिलो भएको छ।
प्रसाईंलाई आफूले नभेटेको जनाउ सार्वजनिक गराएर पूर्वराजाले पनि चैत १५ को जिम्मेवारी आफ्नो टाउकोबाट पन्छाएका छन्।