नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को मतगणना पेरिसडाँडामा जारी छ।
उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना मंगलबार रातिदेखि सुरू भएको हो। भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा मतदान भएको चार दिनपछि मंगलबार बेलुकी मतपेटिका माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको थियो।
मंगलबार रातिदेखि नै सुरू भएको मतगणनामा अहिले उपत्यका विशेष प्रदेशतर्फ सचिवहरुको मतगणना भइरहेको नेता केशव रावलले जानकारी दिए।
सचिवहरूको सकिएपछि उपमहासचिवको गणना हुने र त्यसपछि महासचिव, उपाध्यक्ष र अध्यक्षको मतगणना हुनेछ। गणना सकिन दिनभरि लाग्न सक्ने उनल बताए।
भूगोलका सात प्रदेशको भने यसअघि नै मतगणना भइसकेको छ।
अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्। त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्।
वाल्मीकिमा ५२२ मत खसेको छ। सातै प्रदेशको नतिजा आइसक्दा वाल्मीकिको मत निर्णायक हुने देखिएको छ।