तेह्रथुमका माओवादी नेता दुर्गाप्रसाद चापागाईंलाई लाग्यो एकपटक प्रचण्डलाई नभेटी पो मरिन्छ क्यारे।
माओवादी सशस्त्र संघर्ष उत्कर्षतिर पुग्दै गर्दा ०६२ कात्तिकताका एक दिन उनले यो कुरा जीवनसाथी धनरूपा कार्कीलाई सुनाएका थिए।
१७ मंसिर २०६२ मा छिमेकी जिल्ला संखुवासभाको चिचिलामा तत्कालीन शाही नेपाली सेनासँगको दोहोरो भिडन्तमा धनरूपालाई गोली लाग्यो। दुर्गाले छटपटाउँदै गरेकी उनलाई उठाए र केही परसम्म ल्याए। धनरूपा चल्न र कराउन छाडिन्।
अब श्वास छैन भन्ने निर्क्योल गरेपछि धनरूपाको शव त्यहीं राखेर दुर्गा अघि बढे। पछाडिबाट गोली चलाउँदै सैनिक टोली उनी भएतिर आउँदै थियो।
०६२ असोजमा रूकुम चुनवाङको भेरी डाँडामा नेकपा (माओवादी) को चर्चित ‘चुनवाङ बैठक’ बस्यो। त्यही बैठकले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’, रणनीतिअन्तर्गत निरंकुश राजतन्त्रविरूद्ध तत्कालीन सात राजनीतिक दलसँग सहकार्यको हात बढाउने निर्णय गरेको थियो। ‘कार्यनीतिक सिफ्ट’ नाम दिइएको बैठकको निर्णयबारे जानकारी दिन माओवादीले देशभरका कार्यकर्तालाई प्रशिक्षण दिएको थियो।
तेह्रथुमको सम्दुमा हितमान शाक्यको उपस्थितिमा भएको प्रशिक्षणमा दुर्गाले चुनवाङ बैठकमा प्रचण्डले सम्बोधन गरेको ‘भावोत्तेजक’ भाषणको भिडिओ हेरे। बाबुराम भट्टराईले प्रचण्डमा र हाल एमालेमा रहेका रामबहादुर थापा बादलले बलिन्द्रधारा आँसु बगाउँदै ‘प्रचण्डमा बिलय’ भएको घोषणा गरेको भिडिओमा देखे। दुर्गालाई लाग्यो अब भने मरिएछ भने ठीकै छ। किनकी भिडिओमै सही प्रचण्डलाई देखियो ।
०६२/०६३ मा माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादी सहर पस्यो।
प्रचण्ड र बाबुराम खरानी रङको उस्तै सफारी लगाएर केही महिना कहिले कुन र कहिले कुन गरेर काठमाडौंका विभिन्न होटलमा बसे। नयाँबजारमा घर भाडामा लिएर बस्न थालेपछि ०६४ माघमा एक दिन हाल एमालेमा रहेका तत्कालीन माओवादी नेता टंक आङबुहाङको साथ लागेर उनले प्रचण्डलाई भेटे।
‘प्रचण्डसँग हात मिलाउँदा शरीरमा के–के दौडिएजस्तो भयो, छाती ढक्क फुल्यो’, दुर्गा त्यो दिन सम्झन्छन्। त्यस दिन प्रचण्डले गरेका धेरै कुरा सम्झना नभए पनि ‘तपाईं युवाहरू अघि बढ्नुस्’ है भनेको उनले बिर्सिएका छैनन्। त्यसयता दुर्गाले प्रचण्डलाई सामूहिक र एक्लाएक्लै गरी दर्जनौंपटक भेटिसकेका छन्।
सोमबार र मंगलबार दुर्गाले प्रचण्ड र पार्टीका उपमहासचिव वर्षमान पुनलाई आफ्नो गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी गराए। काठमाडौं फर्कनुअघि अन्तिम कार्यक्रमका रूपमा आठराईको चुहान डाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा आयोजित जिल्लाभर र छिमेकी जिल्लाका समेत कार्यकर्ता जम्मा भएको भेलामा प्रचण्डले दुर्गाको खुलेर प्रशंसा मात्र गरेनन्, काम कसरी गर्ने भनेर उनीसँग सिक्न देशभरका नेता कार्यकर्तालाई अपिल गरे।
०५८ साल माघ १४ गते तत्कालीन सुरक्षाकर्मीबाट जिल्लाको बगालेमा २१ जनाको सामूहिक हत्या र पार्टी विभाजनपछि तेह्रथुममा कमजोर भएको माओवादी संगठन फेरि उकालोतिर लागेको देखेको भन्दै जिल्ला नेताहरूको प्रशंसा गरे। पार्टीको पहलमा संघ, प्रदेश र स्थानीय तहबाट जिल्लामा गरिएको विद्युतीकरणसहित भौतिक पूर्वाधार क्षेत्रको विकास तथा जनयुद्ध र सहिदहरूलाई स्थापित गर्ने काममा तेह्रथुमले गरेको प्रयासबाट सिक्न देशभरका नेता कार्यकर्तालाई अपिल गरे।
‘तेह्रथुम जिल्लालाई फेरि उकालोतिर लैजान यहाँ जेजस्ता प्रयासहरू भएको देख्यौं, यसले हाम्रो भरोसा र विश्वास बढाएको छ। त्यसका लागि यस जिल्लाको सुरूदेखिकै नेतृत्वकर्ता दुर्गा चापागाईंसहित सचिवालय र नेतृत्वका साथीहरूलाई विशेष रूपले धन्यवाद दिन चाहन्छु,’ प्रचण्डले भने, ‘र दुर्गाजीहरूबाट सिक्न पनि म हाम्रा देशभरका नेता कार्यकर्ता साथीहरूलाई अपिल गर्न चाहन्छु।’
प्रचण्डले शान्ति प्रक्रियापछि पार्टी नेता र सहिद तथा बेपत्ता परिवार, घाइते एवं अपांगहरूबीचको दूरी फराकिलो भएको स्वीकार गर्दै दुर्गाले भने आफ्नो वर्ग र आन्दोलनमा योगदान गर्नेहरूलाई साथ नछाडेकामा खुसी व्यक्त गरे।
‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो। हामीले महान् सहिदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगहरूलाई निरन्तर भेटघाट गरेर सुखदुःख बुझ्नुपर्ने थियो। उनीहरूलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएको जस्तो, बेवास्ता गरेको जस्तो भयो’, प्रचण्डले भने, ‘हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्धा अलिकति ‘लुज’ भयो । वर्ग बैरीहरूसँग बढी सहकार्य गरेजस्तो देखियो । अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरू गरिएको छ।’
दुर्गा ०६१ सालमा भएको अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै १६औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, ०६३ मा पार्टीको तेह्रथुम जिल्ला सचिव, विराटनगर अधिवेशनअघि निर्वाचित जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज भए। अहिले उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य र तेह्रथुम (ख) बाट कोशी प्रदेशसभा सदस्य छन्।
०७९ मंसिरको आम निर्वाचनपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा दुर्गा साढे चार महिना भौतिक पूर्वाधार विकासमन्त्री रहे। तत्कालीन नेकपा नेतृत्वको सरकारमा वर्षमान पुन तीन वर्षजति ऊर्जामन्त्री थिए। त्यतिबेला चापागाईंले पुनको सचिवालय प्रमुखका रूपमा काम गरेका थिए।
०७५ सालसम्म आठराई र सँगैको फेदाप गाउँपालिकाका अधिकांश गाउँ अँध्यारै थिए। ऊर्जामन्त्री पुनको सचिवालय प्रमुखका रूपमा काम गर्दा दुर्गाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आठराईसहित जिल्लाका अधिकांश स्थानमा विद्युतीकरणको कार्यक्रम समावेश गराए। विद्युतीकरणका लागि सुरूमा ३९ करोड र अर्को वर्ष ६ करोड रकम गयो।
‘जिल्लालाई पूर्ण विद्युतीकरण गर्नमा उनको ठूलो भूमिका छ’, कांग्रेस नेतासमेत रहेका आठराई गाउँपालिकाका अध्यक्ष दीलकुमार पाहीमले भने, ‘त्यतिबेला बिजुली नआएको भए सायद अहिलेसम्म पनि यो ठाउँ अँध्यारै हुन्थ्यो होला।’ दल फरक भए पनि दुर्गाले गरेको कामबाट आफू पनि प्रभावित भएको उनी बताउँछन्।
लालिगुराँस नगरपालिका–७ लसुनेमा ३ रोपनी क्षेत्रफलमा सहिद धनरूपा स्मृति पार्क निर्माण गरिएको छ। पार्कमा धनरूपा कार्कीसहित ६ जना सहिदका अर्धकदको शालिक र 'जनयुद्ध' अवधिमा जिल्लाभरि मारिएका ५८ जनाको नाम लेखिएको शिलालेख छ।
०५८ साल माघ १४ आठराई–३ ह्वाकु बगालेमा तत्कालीन शाही नेपाली सेनाले गाउँ घेरा हाली १८ माओवादी लडाकु, ३ स्थानीय सर्वसाधारणसहित २१ जनाको सामूहिक हत्या गरेको थियो।
लडाकुहरू घाइते अवस्थामा उपचार गराइरहेका थिए। तत्कालीन माओवादी इलाका इन्चार्जको भूमिकामा रहेका दुर्गा घाइतेको उपचार प्रबन्ध मिलाउँदै थिए। उक्त घटनामा घेरा तोडेर बाँचेका उनले सोही स्थानमा सहिद स्मृति पार्क बनाएका छन्।
पार्कमा सेनाद्वारा मारिएका २१ जनाको शालिक छ। प्रचण्डले मंगलबार ती शालिकमा माल्यार्पण गरे। ‘म घाइतेहरूको उपचारको व्यवस्थापनमा थिएँ’, एक्कासि गोली चल्न थालेपछि घेरा तोडें’, दुर्गा भन्छन्, ‘म पनि ढलेको थिएँ भने बगालेमा सहिद हुनेको संख्या २२ हुने थियो।’
पहिलोपटक प्रचण्ड प्रधानमन्त्री भएका बेला ०६५ साल मा अर्थमन्त्री बाबुराम भट्टराईले शिलान्यास गरेको पार्कको मंगलवार प्रचण्ड ले उद्घाटन गरेका हुन्। ०६९ सालमा बाबुराम प्रधानमन्त्री भएका बेला बगाले नरसंहार भएको स्थानमा ‘जनयुद्ध तथा शान्ति संग्रहालय भवन’ र पार्क निर्माण गर्ने उद्देश्यसहित ३३ रोपनी जग्गा प्रतिष्ठान का नाममा भोगाधिकार दिने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले गरेको १२ वर्ष भइसक्दा पनि पार्कको काम अघि बढेको थिएन। दुर्गाले धेरैपटक कोशिस गरेपछि प्रचण्डले मंगलबार उक्त पार्कको उद्घाटन र संग्रहालय भवनको शिलान्साय गरेका छन्।
शिलान्यासपछि प्रचण्डले आफ्नो नेतृत्वमा भएको १० वर्षे जनयुद्धका क्रममा पूर्वमा बगाले नरसंहार पूर्व क्षेत्रकै सबैभन्दा ठूलो भएको बताए। त्यस स्थानलाई युद्ध–राजनीतिक पर्यटनको ‘हब’ बनाउने दुर्गाको योजनामा आफ्नो र पार्टीका तर्फबाट सम्पूर्ण सहयोग रहने उदघोष पनि प्रचण्डले गरे।
‘जनयुद्ध तथा शान्ति संग्रहालय मेरो दीर्घकालीन र महत्वाकांक्षी सपना हो’, चापागाईं भन्छन्, ‘आगामी दिनमा देशमा गणतन्त्र ल्याउन भएको माओवादी जनयुद्धको इतिहास अध्ययन र अनुसन्धान गर्न बगाले आउनुपर्ने गरी काम गर्ने योजना बनाएको छु।’
प्रस्तावित पार्क र क्षेत्र नजिकै ‘रिलिफ आर्ट’ निर्माण गरिएको छ । दोहोरो भिडन्त प्रतिबिम्बित गर्ने गरी ढुंगामा गोली हानिरहेका सशस्त्र बर्दीधारी सेना र गोली लागेर मानिस मरिरहेका जस्तो देखिने चित्र कुँदिएको छ। ‘त्यो चित्र हेर्न आउनेको अहिले लर्को छ’, दुर्गा सँगै बगाले नरसंहारमा ज्यान बचाउन सफल हाल आठराई गाउँपालिका उपाध्यक्ष बलिराज इङनाम भन्छन्। यस्तै सामूहिक हत्यापछि मृतकहरूलाई सेनाले गाडेको स्थान र हत्याकाण्ड भएको घरलाई पनि संरक्षण गरेर राखिएको छ।
समाजवादी मोर्चाको कार्यक्रममा सहभागी हुनुछ भन्दै प्रचण्ड हतारहतार तेह्रथुमबाट काठमाडौंका लागि हेलिकोप्टर चढे। मोर्चाको कार्यक्रम सकेपछि प्रचण्डले मंगलबार साँझ चापागाईंलाई टेलिफोन गरेका थिए। ‘धेरै राम्रो कार्यक्रम आयोजना गर्नुभयो। तपाईंले जिल्लामा राम्रो गर्नुभएको देख्न पाउँदा खुसी लाग्यो,' प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने।
संगठनका हिसाबले पूर्वमै माओवादी तेह्रथुममा सबैभन्दा कमजोर छ। बगालेमा २१ जनाको सामूहिक हत्या भएपछि नेता कार्यकर्तामा भागडौड मच्चिएको र मोहन वैद्यले पार्टी विभाजन गरेपछि आफूहरू थप कमजोर भएको उनले बताए।
‘बगाले नरसंहार र एकपछि अर्को विभाजनको श्रृंखलाका कारण हामी तेह्रथुममा कमजोर भएका थियौ’, चुहानडाँडाको कार्यक्रममा प्रचण्डले भने, ‘अहिले हामी यहाँ उकालोतिर लाग्दैछौं।’
तेह्रथुममा माओवादीले गत स्थानीय निर्वाचनमा आठराई र फेदाप गाउँपालिकामा उपाध्यक्ष जितेको छ। ९ जनाको जिल्ला समन्वय समितिमा ४ सदस्य माओवादीबाट छन्।