यही माघ १३ गते तेह्रथुमको एक कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले 'ट्रम्पको एउटै आदेशले कति बेला नेपालीहरू नेपाल फर्किनुपर्ने हो, टुंगो छैन' भनेर भाषण गरे।
दुई दिनपछि १५ गते नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मीको एक सार्वजनिक कार्यक्रममा 'ट्रम्प-नीतिले ५० हजार नेपाली फर्किन सक्छन्' भने।
तीन पटक प्रधानमन्त्री भएका दाहाल र परराष्ट्रमन्त्री भइसकेका ज्ञवालीका भनाइबारे हामीले अमेरिकामा रहेका नेपालीहरूबारे जानकार अधिवक्तालाई सोधेका छौं।
अमेरिकाको न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी वासु फुलारा नेपालका नेताहरूले अमेरिकामा विकसित भइरहेको अवस्थाभन्दा फरक ढंगले धारणा राखेको बताउँछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्ता व्यक्तिलाई अमेरिकाबाट फर्काउन लागेका हुन् भनेर बुझ्न उनले सुझाव पनि दिएका छन्।
उनका अनुसार ट्रम्प प्रशासनले लिने नीतिले गैरकानुनी रूपमा बसेका आप्रवासीबाहेक कसैलाई असर पर्दैन।
'अपराधमा लागेको हुनु हुँदैन भन्नेमा कसैको विमति छैन। अहिले ट्रम्प प्रशासनले अपराध गरेर लुकेका अनि गैरकानुनी ढंगले बसेका आप्रवासी मात्र खोजी गरेको छ,' कानुन व्यवसायी फुलाराले सेतोपाटीसँग भने, 'ट्रम्प प्रशासनले नेपालीलाई तर्साउने र धम्क्याउने काम गरेको छैन। अदालत जाने बाटो समेत बन्द भएकालाई मात्र डिपोर्ट (निकाला) गर्ने हो।'
त्यसो भए कस्ता व्यक्ति डिपोर्टमा पर्छन् त? कति नेपाली पर्लान्?
फुलाराका अनुसार ट्रम्प प्राशासनले डिपोर्ट गर्ने केही खास आधार छन्।
एक, पहिलो निशानामा अपराध गरेर लुकेका व्यक्ति पर्छन्। त्यसमा स्वदेशमा अपराध गरेर आएका र अमेरिकामा अपराध गरेका व्यक्ति पर्छन्। सामूहिक अपराध गर्ने (ग्याङस्टर) सदस्यहरू उच्च निगरानीमा छन्।
दुई, अदालतको आदेश अनुसार डिपोर्टमा परेर पनि अमेरिका नछाडेका व्यक्ति फर्काइन्छन्। त्यस्ता व्यक्तिले विगतमा पनि अमेरिका छाडेकै हुन्। अहिले यस्ता व्यक्ति खोजीखोजी समातेकाले बढी हल्ला भएको हो।
तीन, अदालत जाने बाटो नभएका वा कानुनी प्रक्रियामा नगई बसेका व्यक्तिहरू निगरानीमा छन्। अमेरिका आएर आफ्नो कागजपत्र नमिलाई लुकेर बसेका व्यक्ति निशानामा छन्।
चार, तल्लो बाटो (अवैध स्थलमार्ग) हुँदै अमेरिका पस्न खोज्नेहरू मेक्सिको सिमानाबाटै फर्काइन सक्छन्। यसकै लागि ट्रम्प प्रशासनले दक्षिणी सिमानामा सैनिक खटाएको छ। सिमानामा पर्खाल लगाउने तयारी पनि गरेको छ।
अदालत जाने बाटो रहँदासम्म र कानुनी प्रक्रिया चल्दासम्म कोही पनि डिपोर्ट नहुने फुलाराको तर्क छ। कानुनी प्रक्रियाबिना बसेका र अपराधमा संलग्न नेपालीको संख्या निकै कम रहेको उनको अनुमान छ।
'साधरणतया नेपालीहरू अपराधमा संलग्न छैनन्। अमेरिकाको कानुन उल्लंघन गरेको छैन भने डिपोर्टको प्राथमिकतामा पर्दैन। आफूले दायर गरेको मुद्दा हारेपछि स्वेदश फर्किनुको विकल्प रहँदैन,' उनी भन्छन्, 'कानुन पालना गरेको र नियम अनुसार कर तिरेको व्यक्तिलाई केही पनि हुँदैन। मुद्दा छ भने फैसला नहुँदासम्म डिपोर्ट हुनु पर्दैन।'
पढाइका लागि अमेरिका पुगेका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका हुन्छन्। त्यस्ता विद्यार्थीलाई पनि ट्रम्पनीतिले फरक नपार्ने उनको भनाइ छ। नियम अनुसार बसेका विद्यार्थी डिपोर्टको निशानामा पर्दैनन्।
'सिधै अपराधसँग जोडिएका व्यक्ति मात्र अहिले डिपोर्टमा पर्ने हुन्। हत्या, हिंसा र बलात्कारका अपराधमा जोडिएका व्यक्ति र ग्याङस्टर सदस्यहरू डिपोर्टको प्राथमिकतामा छन्,' उनले भने।
फुलाराका अनुसार ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षा र अमेरिकी समाजको सुरक्षालाई आधार मानेका छन्। अमेरिकामा गैरकानुनी रूपमा करिब दुई करोड आप्रवासी भएको अनुमान छ।
डिपोर्ट हुन सक्ने नेपालीको संख्या निकै सानो हुने उनले बताए।
'अमेरिकामा बस्ने ५-६ लाख नेपालीमध्ये २-३ लाखको ग्रिनकार्ड छ। कोही विद्यार्थी छन्। कोही कानुनी प्रक्रियामा छन्। कतिपयले अस्थायी कार्ड बनाएका छन्,' अधिवक्ता फुलाराले भने, 'डिपोर्टमा पर्न सक्ने नेपाली तीन हजारभन्दा कम छन्। त्यस्ता नेपालीलाई पनि आजभोलि नै समातिने र नेपाल पठाइने हुँदैन।'
ट्रम्पनीतिले तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने सम्भावना भने करिब करिब अन्त्य भएको छ। त्यस्ता व्यक्तिको मुद्दा प्रक्रिया पनि मेक्सिकोबाटै अघि बढ्छ। त्यहाँबाट मुद्दा जितेपछि मात्र अमेरिका छिर्न सक्छ।
'तल्लो बाटो हुँदै अमेरिका जाने कल्पना नगरौं। पहिले पनि गैरकानुनी नै थियो, अब त असम्भव भएको छ,' उनले भने, 'डिपोर्ट हुन सक्ने नेपालीको संख्या बढीमा तीन हजार मात्र रहे पनि ट्रम्प प्रशासनले सबै नेपाली फर्काउन खोजेको जसरी हल्ला फिँजाइयो।'
विद्यार्थी भिसा, भिजिट भिसा, अस्थायी भिसाजस्ता वैधानिक प्रक्रियाबाट अमेरिका पुगेकालाई ट्रम्पनीतिले केही फरक नपार्ने उनी बताउँछन्। त्यस्तै वैधानिक तरिकाले अमेरिका पुगेर कानुनी प्रक्रियाले आफ्नो बसाइ लम्ब्याउने अथवा स्थायी बसोबासको चाहना राख्नेलाई पनि केही फरक पर्दैन। कानुनी प्रक्रिया पूरा गरेको हुनुपर्छ, मुख्य कुरा यही हो।
अहिले अमेरिकाबाट दैनिक १५ सय जनाजति डिपोर्ट भइरहेको जानकारी उनले पाएका छन्। दुई दिनअघि सबभन्दा धेरै, १७ सय जना डिपोर्टमा परेका थिए। हालसम्म नेपाली परेका छैनन्।
डिपोर्टका विषयमा होन्डुरसका र मेक्सिकोका मिडियामा भन्दा बढी नेपाली मिडियामा खबर आउने गरेको छ भन्ने पनि फुलारालाई लागेको छ। अमेरिकामा बस्ने नेपालीले पनि हल्ला मच्चाएको उनको बुझाइ छ।
'नेपाली नेताहरूले ट्रम्प प्रशासनले नेपालीहरूलाई छानीछानी पठाउँदैछ भन्ने जस्तो भाषण गरेका छन्, त्यसरी बोल्नु गलत हो,' फुलाराले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]