अखिल (क्रान्तिकारी) को दुई विशेष प्रदेशको मतगणना पेरिसडाँडामा हुने भएको छ।
विवाद भएपछि चार दिनदेखि रोकिएको गणना पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ। त्यसका लागि वाल्मीकिमा थन्किएको मतपेटिका पेरिसडाँडा लगिएको अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले जानकारी दिए।
'छलफलपछि निर्वाचन समितिको निर्णयअनुसार मतपेटिका पेरिसडाँडा लगिएको छ। त्यहीँ गणना हुन्छ,' उनले भने।
पेरिसडाँडा लगिएपछि मतगणना आजैदेखि सुरू हुने सापकोटाले बताए। सदर र बदर मतको विवादमा निर्वाचन आयोगको निर्णय र निर्वाचन निर्देशिकामा उल्लेख भएअनुसार हुने पनि उनले बताए।
मतपेटिका वाल्मीकिबाट पेरिसडाँडा लगिएपछि सापकोटा बाहेकका तीन अध्यक्षका उम्मेदवारहरू हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले 'नोट अफ डिसेन्ट' लेखेका छन्।
'नोट अफ डिसेन्टमा वाल्मीकि क्याम्पसमा मतदान भयो, त्यहीँ मतगणना हुनुपर्छ। निर्वाचन समितिले रातो रङको कलमले रेजा लगाउने व्यवस्था गरेको थियो। गणना हुँदा त्यसैलाई मान्यता दिने र अरू रङलाई बदर गर्नुपर्छ भन्ने उल्लेख छ,' अध्यक्षका उम्मेदवार उपदेश यादवले भने।
विद्यार्थीले मतदानस्थलमा राखिएको रातो मसीबाहेक आफैले ल्याएको कलम प्रयोग गरी मतदान गरेको खुलेपछि त्यस्तो मत सदर गर्ने कि बदर गर्ने भन्नेबारेमा अध्यक्षका चार उम्मेदवारबीच चार दिनदेखि विवाद थियो।
सोमबार पनि मतपेटिका पेरिसडाँडा लैजाने तयारी थियो। तर विवाद भएपछि वाल्मीकिमै राखिएको थियो।
वाल्मीकिमा ५२२ मत खसेको छ। सातै प्रदेशको नतिजा आइसक्दा वाल्मीकिको मत निर्णायक हुने देखिएको छ।
अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्। त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्। विजय प्रकाश सापकोटाले कोशीमा ५७, मधेसमा ४२, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ८० र सुदूरपश्चिममा ७२ मत पाएका छन्। हेमन्त राईले कोशीमा १२६, मधेसमा ४१, बागमतीमा ४८, गण्डकीमा ३९, लुम्बिनीमा ६६, कर्णालीमा ८२ र सुदूरपश्चिममा ५९ मत पाएका छन्।
त्यस्तै उपदेश यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १४, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा २३ मत ल्याए।
सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८ र सुदूरपश्चिममा १६ मत ल्याए।
अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत चयन गर्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भरमग्धुर प्रयास गरेका थिए। त्यसका लागि उनले अध्यक्षका आकांक्षीहरूलाई खुमलटार नै बोलाएर छलफल गरेका थिए। सहमति नजुटेपछि प्रचण्डले उम्मेदवारहरूलाई प्रतिस्पर्धाका आधारमा नेतृत्व छान्न निर्देशन दिँदै विद्यार्थीको चुनावमा पार्टीको पदाधिकारीले हस्तक्षेप नगर्ने भनेका थिए।
तर मनोनयन दर्तासम्म पुग्दा पदाधिकारी तहका नेतैपिच्छेका उम्मेदवार खडा गरियो।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षले उपदेश यादवलाई अघि सार्यो। उपाध्यक्ष कृष्णबहादुर महरा पक्षले योगेन्द्र बुढालाई, पम्फा भूसाल पक्षले विश्वमणि थापा, उपमहासचिवहरू वर्षमान पुन पक्षबाट सुदिन पौडेल, जनार्दन शर्मा पक्षले हेमन्त राई र शक्ति बस्नेत पक्षले विजय सापकोटालाई अघि सारेको थियो।
दाबी विरोध र उम्मेदवारी फिर्तासम्म आइपुग्दा विश्वमणि र योगेन्द्रले फिर्ता लिएर विजय प्रकाशलाई समर्थन गरेका थिए। उनीहरूलाई हेडक्वार्टरकै आग्रहमा उम्मेदवारी फिर्ता गराइएको थियो।