इसराइली प्रधानमन्त्री कार्यालयले आइतबार बिहान ११:५५ बजेदेखि गजामा युद्धविराम लागू भएको घोषणा गरेको सिएनएनले जनाएको छ।
आइतबार सम्झौताभन्दा चार घन्टा ढिला गरी गजामा युद्धविराम घोषणा भएको हो। स्थानीय समयअनुसार बिहान साढे ८ बजे युद्धविरामको घोषणा हुने भनिएपनि हमासले बन्धकको सूची नबुझाएको भन्दै युद्धविराम घोषणामा ढिलाइ भएको हो।
युद्धविराममा ढिलाई भएपछि इसराइलले गजामा हवाई आक्रमणसमेत गर्यो जसमा कम्तिमा १३ जनाको मृत्यु र ३० जना घाइते भएको सिएनएनले समाचारमा लेखेको छ।
युद्धविराम घोषणासँगै हमासले तीन इसराइलीलाई बन्धकमुक्त गर्नेछ।
आज बन्धकमुक्त हुनेहरू सबै इसराइली महिला छन्। उनीहरू रोमी गोनेन, डोरोन स्टीनब्रेचर र एमिली डमारी छन्। उनीहरूको बारेमा थप जानकारी सार्वजनिक भएको छैन। बन्धकमुक्त भएकाहरू रेडक्रसमार्फत इसराइल पुग्नेछन्।
आज तीन जना बन्धक रिहा गरेपछि हमासले एक सातापछि चार जना बन्धक रिहा गर्नेछ। त्यसपछि प्रत्येक सातामा हमासले बन्धक छाड्ने र इसराइलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने क्रम ६ सातासम्म चल्नेछ।
६ साताभित्र दोस्रो चरणको युद्धविरामका लागि मध्यस्तकर्ताहरूले दोस्रो चरणको युद्धविरामबारे दुई पक्षसँग छलफल गर्नेछ।