दुई-तीन वटा प्रसंगहरूमार्फत यो लेखमा मैले राज्य र बजारसँग हामी सर्वसाधारणको सम्बन्धबारे चर्चा गरेको छु।
फ्रान्समा राजा लुई चौधौंको आदेशबाट सन् १७१७ मा एउटा मिसिसिपी नाम गरेको कम्पनी स्थापना भएको थियो। उपनिवेशकालमा युरोपमा स्थापना भएका अरू कम्पनीजस्तै यसको उद्देश्य पनि निर्माण र व्यापार गर्ने थियो। फ्रान्सको अधिनमा रहेको अमेरिकी भूभागमध्येको तल्लो मिसिसिपी उपत्यकामा उसले सहर बसाउने योजना अघि सार्यो।
समुद्री किनारको दलदले मैदानमा सहर बसाउने कम्पनीको महत्वाकांक्षी योजनामा दरबारको ठूलो सहयोग रह्यो। राजासँग राम्रो सम्बन्ध भएकै कारण कम्पनीले पेरिस स्टक एक्सचेन्जमा सेयर बेचेर पर्याप्त पुँजी संकलन गर्यो।
कम्पनीका सञ्चालक जोन ल स्कटल्यान्डबाट आएका थिए। उनी फ्रान्सको केन्द्रीय बैंकका गभर्नर पनि थिए। त्यति मात्र होइन, उनलाई राजाले अहिलेको सन्दर्भमा अर्थमन्त्री भन्न सकिने वित्त नियन्त्रकको पद पनि दिएका थिए।
तल्लो मिसिसिपी (न्यू ओरलिन्स) परियोजनाले प्रचुर धनराशी र अनेकौं आर्थिक अवसर सिर्जना गर्छ भनेर कम्पनीले व्यापक प्रचारप्रसार गर्यो। फ्रान्सेली कुलीन वर्ग, व्यापारी र सहरी पुँजीपतिहरूले त्यो प्रचार पत्याए। मिसिसिपी कम्पनीको सेयर मूल्य अकासियो। सुरूका दिनमा प्रतिकित्ता ५ सय लिभर (तत्कालीन मुद्रा) मा कारोबार भइरहेको कम्पनीको सेयर दुई वर्षपछि ३ हजार लिभर पुग्यो। त्यसको एक महिनापछि ४ हजार, अर्को महिना ५ हजार हुँदै १० हजार लिभर नाघ्यो। पेरिसका मान्छेलाई मिसिसिपीको सेयर किन्ने अनौठो नशाले गाँज्यो। आफ्नो भएभरका सबै सम्पत्ति बेचेर, ऋण लिएर पनि उनीहरूले मिसिसिपीको सेयर किने।
सबैलाई रातारात धनी बन्ने सूत्र पत्ता लगाइयो भन्ने लाग्यो। कम्पनीको सेयर भाउले १० हजार लिभर नाघेको केही दिनपछि बजारका केही कारोबारी झल्याँस्स भए। यो मूल्य अवास्तविक हो र धेरै टिक्दैन भन्ने उनीहरूलाई लाग्यो। मूल्य उच्च विन्दुमै हुँदा बेचेर उम्किने बाटो उनीहरूले रोजे। उनीहरूलाई पछ्याउनेको संख्या बिस्तारै बढ्दै गयो।
अनि सुरू भयो संकट।
सेयरको आपूर्ति बढ्दै जाँदा मूल्य घट्यो। मूल्य घट्दै जाँदा त्रास फैलियो। त्रासले सेयरको मूल्य झन तीव्र गतिमा घटायो। पहिले सेयर किन्न हारालुछ गरेका मान्छेहरू उसैगरी बजारबाट बाहिरिन खोजे।
सेयरको मूल्य टिकाउन गभर्नर जोन लको निर्देशनमा फ्रान्सको केन्द्रीय बैंकले मिसिसिपीको सेयर किन्यो। तर पनि सेयरको मूल्यको गिरावट थामिएन। केन्द्रीय बैंकसँग थप सेयर किन्ने पैसा नै भएन। अर्थमन्त्रीको हैसियतमा उनै जोन लकले सेयर किन्न केन्द्रीय बैंकलाई थप पैसा छाप्न निर्देशन दिए।
त्यो उपायले पनि काम गरेन।
मिसिसिपीको सेयर भाउ १० हजार लिभरबाट क्रमशः शून्यमा झर्यो। केन्द्रीय बैंक र सरकारी कोषमा मिसिसिपी कम्पनीको मूल्यहीन सेयरको थुप्रो लाग्यो। सरकारसँग पत्रु सेयर मात्रै रह्यो, पैसा रहेन।
बेलैमा सेयर बेचेका कारण बजारका ठूला सट्टेबाजले पैसा कुम्ल्याए। साना लगानीकर्ता भने जिल्लिए। ऋणमा डुबेर कतिले आत्महत्या गरे। 'मिसिसिपी बबल' भनिने यो घटनालाई मानव इतिहासको ठूला वित्तीय दुर्घटनामध्ये एक मानिन्छ।
यो दुर्घटनापछि फ्रान्सेली वित्तीय प्रणाली तंग्रिनै सकेन। मिसिसिपीको सेयर मूल्य बढाउन दरबारले अनेक चलखेल गर्यो। तर बढेन। बरू फ्रान्सेली बैंकिङ प्रणाली र शासकको विवेकमाथि जनताले विश्वास गर्न छाडे। लुई चौधौंलाई ऋण उठाउन झनै गाह्रो भयो। सैन्य बलमा टिकेको फ्रान्सेली राज्य कमजोर बन्यो।
आफ्नो उपनिवेश टिकाउन फ्रान्सलाई धौधौ पर्यो। यही मौकामा फ्रान्सेली उपनिवेश बेलायतले हात पार्न थाल्यो। बेलायत सजिलै र कम ब्याजदरमा पैसा उधारो लिन सक्थ्यो, फ्रान्स सक्थेन। पुरानो ऋण तिर्न फ्रान्सले नयाँ ऋण लिनुपर्ने अवस्था आयो। सन् १७७४ मा हजुरबुबा लुई चौधौंको मृत्युपछि नाति लुई सोह्रौं सिंहासनमा बसे। उनको पालामा बनेको वार्षिक बजेटको आधा रकम ऋणको ब्याज तिर्न छुट्ट्याइएको थियो।
यो पुरानो घटना 'मिसिसिपी बबल' को चर्चा आजका दिनमा किन गरिएको हो त?
किनभने, यसबाट सिक्न सकिने केही कुरा छन् जुन आज पनि उत्तिकै उपयोगी हुन्छ।
अब ती कुराबारे छोटकरीमा चर्चा गरौं।
पहिलो पाठ हो — राजा, महाराजा वा शक्तिशाली शासकले बजार टिकाउन सक्दैनन्।
लुई चौधौं पाँच वर्षको उमेरमा शक्तिशाली राज्य फ्रान्सको राजा भएका थिए। उनले एकपछि अर्को गलत काम गर्दै गए र मुलुक आर्थिक, राजनीतिक र सैन्य सबै हिसाबले कमजोर भयो। मिसिसिपी कम्पनी पनि उनले उठाएको गलत कदममध्ये एक थियो।
दोस्रो पाठ हो— स्वार्थ बाझिने भूमिकामा खडा गरिएका पात्रहरूले सिंगो समाजलाई डुबाउँछन्।
जोन ल कम्पनीका मुख्य सञ्चालक, केन्द्रीय बैंकको गभर्नर र अर्थमन्त्रीको पदमा आसिन थिए। यस किसिमले प्रत्यक्ष स्वार्थ बाझिने भूमिकामा एउटै व्यक्ति बस्ने घटना विरलै हुन्छन्।
त्यसैले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गर्ने संसदीय समितिमा सांसद बनेका बैंकर, शिक्षा सम्बन्धी ऐनमा निजी स्कुल सञ्चालक, निर्माण सम्बन्धी ऐनमा निर्माण व्यवसायी सांसद हुन हुँदैन भनिएको हो। नीति-निर्माणमा मात्र नभएर कार्यकारी पदहरूमा पनि स्वार्थ बाझिने व्यक्तिलाई राखिनु हुँदैन। जति ठूलो पदमा यस्ता स्वार्थ बाझिने व्यक्ति हुन्छन्, तिनले निम्त्याउने संकट त्यनि नै ठूलो हुन्छ।
सरकारी मान्छेले उठाएका गलत कदमको नतिजा धेरै महँगा पर्छन्।
सन् २००८ को अमेरिकी वित्तीय संकटसँग जोडिएको एउटा रोचक प्रसंग छ। अमेरिकी वित्त बजारमा डढेलो लाग्न ठिक्क परेको थियो। लिम्यान ब्रदर्स कम्पनी ढल्दा त्यसले झिल्कोको काम गर्यो। कम्पनी ढल्नुअघि त्यसका प्रमुख कार्यकारी अधिकृतले तत्कालीन अर्थमन्त्री हेनरी पल्सनसँग गुहार मागेका थिए। सरकारले उद्धारको प्याकेज ल्याओस् र कम्पनी बचाइदेओस् भनेका थिए। तर पल्सन मानेनन्।
लिम्यान ढल्यो। अरू कम्पनी पनि ढल्दै गए। संकटले विकराल रूप लिन लागेपछि पल्सनले अमेरिकी इतिहासकै सबभन्दा महँगो (सात सय अर्ब डलर) आर्थिक उद्धार प्याकेज कंग्रेसबाट पास गराए।
पल्सन अर्थमन्त्री हुनुअघि गोल्डम्यान साक्स नामको ठूलो वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत थिए। पल्सनले यही पृष्ठभूमिका कारण पूर्व प्रतिस्पर्धी लिम्यान ब्रदर्सलाई सहयोग नगरेका थिए। यसै कारण अमेरिकी करददाताले ठूलो मूल्य चुकाउनु परेको आरोप कतिपयले लगाउने गरेका छन्। पल्सनले लिम्यानलाई जोगाएको भए त्यति ठूलो क्षति हुने थिएन भन्ने उनीहरूको दाबी छ।
तेस्रो पाठ — 'बतासे' योजना पत्याइहाल्न हुँदैन।
कुनै शक्तिशाली शासकले प्रवर्द्धन गरेको महत्वाकांक्षी परियोजना हो भन्दैमा सफल हुन्छ भन्ने हुँदैन। त्यो परियोजनाले कसरी लाभ सिर्जना गर्छ भन्ने कुरा महत्त्वपूर्ण हो। राजा र उनका आसेपासेले खडा गरेको बतासे योजना पत्याउँदा फ्रान्सेलीले ठूलो धनजनको क्षति बेहोर्नुपर्यो।
चौथो पाठ — धनी बन्ने आकांक्षा सबैको हुन्छ तर रातारात धनी बन्ने कुनै सूत्र हुँदैन।
मिसिसिपी कम्पनीबाटै रातारात धनी बनिन्छ भन्ने झुक्क्यानमा फ्रान्सेलीहरू परे। मान्छेको इतिहासमा धेरैतिरका धेरै जना यसरी झुक्क्यानमा परेका छन्।
यसबाहेक पनि धेरै कुरा छन् जुन हामीद्ये मिसिसिपी बबलबाट सिक्न सक्छौं। तर जर्मन दार्शनिक हेगेलका अनुसार इतिहासबाट हामीले केही पनि सिक्दैनौं भन्ने कुरा हामीलाई इतिहासले नै सिकाएको छ।
बुद्धिमान मानिसले अर्काले गरेको गल्तीबाट पनि पाठ सिक्छ। हामी भने नसिक्नेमध्ये पर्छौं। एक त धेरै कुरा हामीलाई थाहै हुदैन। अर्को पुँजी बजारकै प्रसंगमा अहिले चर्चामा रहेका केही विषयले हामी पाठ नसिक्नेमध्ये पर्छौं भन्ने संकेत गर्छ।
प्रसंग १ –
कर्णाली विकास बैंक समस्यामा परेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने कम्पनी समस्यामा परेको यो पहिलो घटना होइन। कुनै समय नेप्सेमा उच्च मूल्यमा सेयरको कारोबार हुने थुप्रै कम्पनी धराशायी भएका छन्। बैंक तथा वित्तीय संस्थाको कुरा गर्दा नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन जिम्मा लिएको र कम्पनीलाई सामान्य अवस्थामा फर्काएर छाडेका उदाहरण छन्। यस्तै कतिपय कम्पनी व्यवसायमा फर्किनै सकेनन् भने कतिपय पुनर्जीवनका लागि अझै संघर्षरत छन्।
कर्णाली विकास बैंकलाई सञ्चालन लाइसेन्स दिने निकाय राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएपछि नेप्सेमा उक्त कम्पनीको सेयर मूल्यमा भएको बढोत्तरी र सामाजिक सञ्जालमा देखिएको चर्चाले हामी इतिहासबाट नसिक्नेमध्येमै पर्छौं भन्ने पुष्टि गर्छ।
प्रसंग २ –
संसदमा धितोपत्र सम्बन्धी ऐनको संशोधन अर्को प्रसंग हो। प्रतिनिधि सभा अर्थ समितिमा धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा छलफल चलिरहेको छ। यसमा २८ सांसदले संशोधन प्रस्ताव हालेका छन्। विधेयकमा पुँजी बजारको विकासलाई अग्रगामी दिशामा अगाडि बढाउने उल्लेख्य विषय केही थिएन। धितोपत्र बोर्डले विभिन्न नियमावली मार्फत काम चलाउँदै आएका विषयलाई ऐनमा पारेर बलियो वैधानिकता प्राप्त गर्ने प्रयास मात्रै गरेको थियो।
संशोधन प्रस्तावमा सांसदहरूले प्रस्तुत गरेको बुँदागत संशोधन झन् उदेकलाग्दो थियो। फलानो माननीयले उठाएको विषय साँच्चिकै गम्भीर छ भन्ने कुनै पनि संशोधन छैन। यसले हाम्रो समग्र समाज सतही बन्दै गएको संकेत गर्छ।
पुँजी बजार के हो, यो किन आवश्यक छ, यसभित्र के कस्ता कमी कमजोरी छन्, नीतिगत सुधार मार्फत यसमा कसरी सकारात्मक हस्तक्षेप गर्न सकिन्छ भन्ने दृष्टिसहित कुनै पनि सांसदले संशोधन प्रस्तुत गरेको देखिएन। नीति-निर्माताले दृष्टि दिनुपर्ने वृहत चित्र बेवास्ता गरेर टुक्रे टिप्पणी मात्रै गरेको देखियो। अल्पकालीन र कम महत्त्वका विषय उठाएर आफ्नो उपस्थिति जनाउने काम मात्र सांसदले गरे।
यति मात्रै होइन अहिले सबै खाले सार्वजनिक मञ्चहरूमा धितोपत्र (पुँजी) बजारमा चलेको बहस दिशाहीन छ। यो बजार किन आवश्यक छ, कसका लागि हो, यसले के गर्छ, समकालीन विश्वमा धितोपत्र बजारको अवस्था के छ, छिमेकीहरूले के गरिरहेका छन्, हामीले गर्नुपर्ने के हो भन्ने विषयमा कमैलाई चासो छ
उदाहरणका लागि, धितोपत्र बोर्डको सञ्चालक समितिमा को हुनुपर्छ, को हुनु हुँदैन भन्नेमा धेरैले चासो देखाए। धितोपत्र बजारमै करिअर बनाएको मान्छेलाई कार्यकारी अध्यक्ष बनाउने परिपाटीको विकास गर्ने, सदस्यहरूमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र कानुन मन्त्रालयको सहसचिवले प्रतिनिधित्व गर्ने, यसैगरी विश्वविद्यालयको प्राध्यापक एक जना र धितोपत्र बोर्डकै दुई जना वरिष्ठतम कार्यकारी निर्देशकलाई राख्दा पर्याप्त हुन्छ। त्यसो नगरी फजुलका तर्कमा ऊर्जा खर्च गरिएको छ।
हाम्रा नीति-निर्माता सर्वसाधारणझैं तत्कालीन घटनाबाट अति प्रभावित हुने सामान्य मानवीय संज्ञानात्मक कमजोरी (कग्निटिभ बायस) को शिकार भएको देखिन्छ। बीमा प्राधिकरण, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामकीय निकायको नेतृत्व चयन पछिल्लो समय विवादको विषय बनेको छ। त्यस कारण धेरै सांसदले संशोधन प्रस्तावमा बोर्डको संरचनालाई बढी जोड दिएका छन्।
बोर्डको संरचना महत्त्वपूर्ण विषय हो तर महत्त्वका अरू विषय ओझेल परेका छन्। सांसद वा सांसदको समूहले मुलुकको पुँजी बजार कस्तो हुनुपर्छ भन्ने सोचसहित पूरै धितोपत्र ऐन पुनर्लेखन नै गरेर छलफलमा ल्याउन सक्ने थिए, त्यसो गरिएन।
धितोपत्र बजारको मूल मुद्दामा प्रवेश गर्ने कष्ट कसैले गरेको देखिँदैन। कुनै समस्या सतहमा आयो भने त्यसको कारण वा समाधान खोज्न लागिँदैन। भविष्यमा त्यस्तो समस्या नआओस् भन्नेतर्फ छलफल चलाइँदैन। कुनै कदम उठाइँदैन। सबै जना दोषी खोज्न लाग्छन्। कसै न कसैलाई बदमास देखाएर विषयान्तर गरिन्छ। समस्या ज्युँकात्युँ रहन्छ।
नोबेल पुरस्कार विजेता रिचर्ड थेलर नीति-निर्माताहरूले 'च्वाइस डिजाइनर' का रूपमा काम गर्नुपर्छ भन्छन्। बजार संयन्त्र तथा सामाजिक व्यवस्थाको रचना यसरी गर्नुपर्छ कि त्यसले नागरिकलाई गलत छनोट गर्न प्रोत्साहित नगरोस्। अन्तिम निर्णयकर्ता त नागरिक (उपभोक्ता) नै हुन्छन् तर उनीहरूले निर्णय गर्दा आफ्नै स्वास्थ्य बिगार्ने, धनको क्षति हुने, सामाजिक सदभाव बिथोलिने, वातावरण विनाश हुने काम नहोस्।
यस किसिमको शैलीलाई थेलरले 'लिबरटेरियन पटर्नलिजम' नाम दिएका छन्। लिबरटेरियन मतका अनुयायीहरू खुला बजार र स्वतन्त्र प्रतिस्पर्धामा विश्वास गर्छन्। राज्यलाई अभिभावक रूपमा हेर्नुलाई 'पटर्नलिस्टिक' दृष्टिकोण मानिन्छ।
'बजारमा चुरोट बेच्ने कम्पनी हुन्छन् र चुरोट छुटाउने पनि। चुरोट पिउने तपाईंको अधिकार होला तर चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ भनेर राज्यले तपाईंलाई सम्झाइरहनुपर्छ,' थेलर भन्छन्।
कुनै अवधारणा नै गलत हुन सक्छ। नभए संरचना गलत हुन सक्छ। नीतिगत व्यवस्थामा छिद्र हुन सक्छन्। हामीलाई यसको खास वास्ता हुँदैन। हामी निरन्तर नायक र खलनायकको खोजीमा हुन्छौं। कुनै पात्र विशेषले बिगार्न वा सपार्न सक्छ भन्नेमा मात्रै हाम्रो ध्यान केन्द्रित हुन्छ। अझ कुन पात्रलाई अघि बढाउँदा वा पछि हटाउँदा लाभ वा हानि के हुने हो, त्यसमा मात्र ध्यान हुन्छ। मन्त्रालय, मिडिया, अड्डा, अदालत सबै यसरी नै बरालिएका छन्।
तर नीति-निर्माता वा शासक बरालिनु हुँदैन। उनीहरूले बजारी हल्ला त सुन्नुपर्छ तर नीति-निर्माणको प्रमुख आधार त्यसैलाई बनाउन हुँदैन।
यहाँ ग्रिक कवि होमरको महाकाव्य 'ओडिसी' मा रहेको एउटा कथाको सार उल्लेख गर्नु सान्दर्भिक हुन्छ।
कथामा ओडिससको राज्य इथाचा नजिकै एउटा टापू हुन्छ। टापूमा चराको शरीर र महिलाको टाउको भएका साइरन्स बस्छन्। साइरन्स मधुरो भाकामा गीत गाउँथे। टापू नजिकै भएर ओहोरदोहोर गर्ने जहाजका यात्रु गीत सुनेर लठ्ठ पर्थे र निदाउँथे। अनि साइरन्स जहाजमा आउँथे र यात्रुलाई टुक्राटुक्रा पारेर समुद्रमा फाल्थे।
यसले इथाचाबासीलाई आतंकित बनाएको थियो। ओडिससले यो आतंक निर्मूल पार्ने उपाय निकाल्छन्। उनले आफ्ना सहयोगीका कानमा मैन कोच्छन्। आफूलाई भने जहाजको मियोमा बाँध्न लगाउँछन्। अनि ओडिससको टोली समुद्री यात्रामा निस्किन्छ।
सधैंझै उनीहरू टापू नजिक पुग्दा साइरन्स गीत गाउन थाल्छन्। ओडिसस आफू बाँधिएका थिए, सहयोगीका कान बन्द थिए। मिठो गीतबाट ओडिसस चाहेर पनि बहकिन पाएनन्, सहयोगीले गीत सुन्दै सुनेनन् र जहाजलाई अघि बढाए।
यो कथाले क्षणिक भावनात्मक फन्दाबाट जोगिने र चुनौतीहरूबाट पार पाउन बुद्धिको प्रयोग गर्ने पाठ सिकाउँछ।
पछिल्लो पटक हामीकहाँ सरकार परिवर्तन हुँदा केही समय सेयर बजारमा उच्छाल आयो। दैनिक कारोबार रकम बढ्यो, नेप्से परिसूचक उच्च विन्दुमा पुग्यो। समष्टिगत आर्थिक परिसूचक स्थिर रहेका बेला सेयर बजारको त्यो उत्साह टिकाउ हुन्छ कि हुँदैन भन्नेतर्फ थोरैको ध्यान गयो। सरकार, नागरिक, मिडिया बजारको वृद्धिमा रमाए।
कुनै व्यक्ति विशेषको जादु बजारमा लामो समय चल्दैन भन्ने हामीले पटक पटक भोगेको तर बिर्सिने गरेको तथ्य हो।
उदाहरणका लागि राजा ज्ञानेन्द्र शाहले सत्ता आरोहण गर्दा बजार बढेको थियो र सत्याच्युत हुँदा पनि बढेको थियो।
हाम्रोमा स्वतन्त्र, खुला र सरकारी हस्तक्षेप रहित सेयर बजारको हाँक दिने पनि छन्। बजार बढ्दा 'लगानीकर्ता राजा हो हस्तक्षेप नगर, उसको इच्छा अन्तिम सत्य हो' भन्ने आवाज चर्को सुनिन्छ। उनीहरू संस्थापन पक्षलाई 'खबरदार, हस्तक्षेप नगर' भन्छन्। तिनै चर्को आवाज गर्नेहरू बजार घट्दा 'लगानीकर्ता डुबे, सरकार अभिभावक हो, खोइ हेरेको' भन्छन्। आफ्नो स्वार्थ अनुकूल उनीहरू कहिले घोर पुँजीवादी बन्छन् त कहिले घोर समाजवादी।
लेखक युवल नोहा हारारीका अनुसार रोमान्टिक साहित्यमा व्यक्तिलाई प्रायः राज्य र बजार विरूद्धको संघर्षमा फसेको पात्रका रूपमा प्रस्तुत गरिन्छ।
यो सत्य होइन।
खासमा राज्य भनेको आमा हुन् र बजार भनेको बुबा। बजारले हामीलाई काम, बीमा र पेन्सन दिन्छ। सरकारी स्कुलले हामीलाई पढाउँछन्। व्यवसाय गर्न बैंकले हामीलाई ऋण दिन्छ। निर्माण कम्पनीले घर बनाउँछ। हिंसा भड्कियो भने प्रहरीले सुरक्षा दिन्छ। बिरामी हुँदाको उपचार खर्च बीमाले बेहोर्छ। लामो समय काम गर्न नसक्दा सामाजिक सुरक्षा सहयोगी बन्छ।
व्यक्तिलाई अस्तित्वमा आउन अभिभावक चाहिने हो भने बुबा र आमा दुवै आवश्यक हुने भए। राज्यलाई सबथोक मान्ने अर्थ-राजनीतिक प्रणाली असफल भएको र त्यसले विध्वंस मचाएको हामीले देख्यौं। बजारलाई सबैथोक मान्ने अर्थ-राजनीतिक प्रणाली प्रयोगमा आएकै छैन।
अतः राज्य र बजारबीच द्वन्द्व देख्ने अतिवादी दृष्टि र अभ्यासबाट मुक्त हुन सक्यौं भने धेरै समस्या समाधान गर्न सकिन्छ।
पुँजी बजारको समस्या पनि यस्ता अनेकौं समस्यामध्ये एक हो। विसंगत दृष्टि र व्यवहारबाट मुक्त भएको अवस्थामा मात्र बोलीचालीको भाषामा सेयर बजार भनिने धितोपत्र वा पुँजी बजारबाट हामीले उच्चतम लाभ पाउन सक्छौं। यस्तो लाभ देश र जनताको पक्षमा हुन्छ। यस्तो लाभ फराकिलो र गहिरो हुन्छ। अन्यथा सीमित समूह मात्र लाभान्वित हुन्छ।
मिसिसिपी बबल र अरू वित्तीय संकटले केही प्रस्ट सन्देश दिएका छन्। त्यसबाट हामीले पाठ सिक्नुपर्छ। फराकिलो चित्र र दीर्घकाललाई हेर्नुपर्छ। नेतृत्वले अनिवार्य रूपमा गर्नुपर्ने काम यही हो। बजार हस्तक्षेप निरपेक्ष हुँदैन। व्यक्तिगत खुद्रा कारोबारी र संस्थापन पक्षको बजार हेर्ने दृष्टिकोण फरक हुनुपर्छ।
बजार र राज्य निष्पक्ष हुनुपर्छ। कसैलाई जिताउने र कसैलाई हराउने गरी बजारको डिजाइन गरिनु हुँदैन। राज्यले झन् नागरिकलाई काखा पाखा गर्नै सक्दैन।
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)