जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जनाविरूद्ध सहकारी ठगी तथा संगठित अपराध विरूद्धको पूरक मुद्दा दर्ता गरेको छ।
बुटवलको सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत वैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ।
सहकारीका संरक्षक समेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा १७ जनालाई सहकारी ठगीसँगै संगठित अपराधमा समेत बिहीबार पूरक मुद्दा लगिएको थियो।
आइतबार रवि लामिछाने र गोर्खा मिडियाका उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी सहितका १४ जना र यसअघि मुद्दा दर्ता भएका ८ जना समेत गरी २२ जनाविरूद्ध पूरक मुद्दा दर्ता भएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए।
आइतबार दर्ता भएका समेत गरी सुप्रिम सहकारीको रकम ठगी अभियोगमा ४२ जनालाई मुद्दा दर्ता भएको मरासिनीले जानकारी दिए।
उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ।
मरासिनीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले दिउँसो १ बजेतिर पेस गरेको अभियोगपत्र रूजु गरेर साढे ४ बजेतिर अदालतमा दर्ता गरिएको हो। उनीहरूविरूद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो।
यसअघि गत पुस २६ गते लामिछाने र जोशी सहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वलिकको कार्यालयलाई बुझाएको थियो। प्रहरीले पठाएको अनुसन्धान प्रतिवेदनको अध्ययनपछि जिल्ला सरकारी वकिलको कार्यालयले २५६ पृष्ठको अभियोग पत्र तयार गरेको हो।
अदालतमा दर्ता गरिएको अभियोगपत्रमा रविलाई ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो माग गरिएको छ। व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा गएको २ करोड १५ लाख २८ हजार रुपैयाँलाई सामूहिक दायित्वमा राखी बिगो माग गरिएको छ।
त्यस्तै जोशीविरूद्ध २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। त्यस्तै, सहकारी ठगीका मुख्य योजनाकार राईलाई ५१ करोड १ लाख बिगो माग गरिएको छ।
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङविरूद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग गरिएको छ। गुरूङ अदालतको आदेशले यसअघि नै पूर्पक्षको लागि जिल्ला कारागार रूपन्देहीमा छन्।
यसअघि गत वैशाखमा लगिएको मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो। पूरक मुद्दाको समेत गरी प्रतिवादी बनाइएका ४२ जनाको बिगो झण्डै डेढ अर्ब पुगेको छ। अदालतमा मुद्दा दर्ता भएपछि अब लामिछाने र जोशी लगायत रूपन्देही अदालतमा उपस्थित हुनु पर्नेछ। रवि सोमबार नै रूपन्देही आउने तयारीमा रहेको उनी निकटका कानून व्यवसायीले बताएका छन्।
यसअघि लामिछाने र जोशीविरूद्ध पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पोखरा र काठमाडौंमा अभियोग दर्ता भएको थियो।
सहकारी ठगी अभियोगमा गत कात्तिक २ गते कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने अदालतको आदेशपछि ६५ लाख धरौटी बुझाएर पुस २६ गते हिरासतमुक्त भएका थिए। जोशी भने ८८ लाख धरौटीमा रिहा भएका थिए।
त्यसलगत्तै लामिछाने जिल्ला अदालत काठमाडौंमा पनि उपस्थित भएर ६० लाख धरौटीमा हिरासतमुक्त भइसकेका छन् भने जोशी आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित भएका छन्। उनीहरूविरूद्ध चितवनको सहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि मुद्दा चलाउने तयारी छ।