भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ।
एमाले जिल्ला कमिटी कैलालीको शनिबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाही गरेको हो।
कृष्णराज पूर्वप्रदेश कमिटी सदस्य हुनाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माथिल्लो कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष यज्ञ ढुंगानाले जानकारी दिए।
भीष्म भने जिल्ला कमिटी सदस्य भएकाले उनलाई जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको ढुंगानाले बताए।
‘उहाँहरू लामो समयदेखि पार्टी हित, अनुशासनविपरीत गतिविधि गर्दै आउनुभएको थियो। पछिल्लो समय उहाँहरू पार्टीले निष्कासन गरेको भीम रावलको पक्षमा खुल्नुभएको थियो। त्यसैले कारबाही गरेका हौं, पार्टीका कार्यकर्ता भएपछि पार्टी अनुशासनमा बस्नुपर्छ,’ ढुंगानाले सेतोपाटीसँग भने।
कारबाही गरिएका कृष्ण र भीष्म बाबुछोरा हुन्। नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भएका बेला कृष्ण सामाजिक विकास मन्त्री थिए। उनी २०७४ को चुनावमा कैलाली ५ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
एमालेले कारबाही गरेका भीष्म सुवेदीले भने पार्टी स्वेच्छाचारी बन्दै गएको टिप्पणी गरे। कारबाहीबारे अहिलेसम्म जानकारी नआएको बताउँदै पत्र प्राप्त भएपछि आधिकारिक धारणा व्यक्त गर्ने उनको भनाइ छ।
‘पछिल्लो समय एमाले बामालेमा परिणत भएको छ। स्वेच्छाचारी हाबी छ,’ उनको आरोप छ, ‘एमाले निर्माणमा हामीले पनि रगत पसिना खर्चिएका छौं। झन्डै २२ वर्ष मैले यो पार्टीमा बिताएँ। एउटा मानिसको २२ वर्षको योगदानको अवमूल्यन गर्ने गरी पार्टीले निर्णय गरेको सुनेका छौं।’
गत पुस १० गतेको सचिवालय बैठकबाट एमालेले संगठित सदस्यताबाट हटाएका भीम रावल केही समयअघि अछामको रामारोसन गाउँपालिका गएका थिए। भीष्मसहितका केही नेता–कार्यकर्ताले रावललाई धनगढी विमानस्थलमा स्वागत गरेका थिए।
यतिकै आधारमा पार्टीले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्नु आश्चर्यजनक भएको उनले टिप्पणी गरे।
‘जिल्ला कमिटीको बैठकमा एजेन्डासमेत नभएको विषयमा प्रदेश इन्चार्ज लेखराज भट्टको सनकका भरमा हामीलाई कारबाही गर्ने निर्णय भएछ। उहाँले भीम रावलको गतिविधिमा लाग्नेलाई कारबाही गर्न निर्देशन छ भनेपछि बैठकले निर्णय गर्यो भन्ने सुनेका छौं,’ भीष्मले भने।
देशको पूर्वउपप्रधान, रक्षा एवम् गृहमन्त्री भइसकेका व्यक्तित्वलाई स्वागत गर्नु कुनै हालतमा पार्टी अनुशासनविपरीत नहुने उनले बताए।
‘त्यसो हो भने कैलाली गएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लेखराज भट्टकै घर पुगेका थिए। भट्ट परिवारले उनको भव्य स्वागत गरेको हो। लेखराज भट्टको घरको एउटा कोठालाई उनले आफ्नै घरको संज्ञा दिएका थिए। अब लेखराज भट्टमाथि कारबाही हुने कि नहुने त?,’ उनको प्रतिप्रश्न थियो।
उनले भीम रावलको मातृभूमिका लागि जागरण अभियानमा सक्रिय हुने वा नहुनेबारे केही बताएनन्।
पार्टीले आधिकारिक निर्णय पठाएपछि यसबारे धारणा सार्वजनिक गर्ने उनको भनाइ छ।