प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन्।
बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गरे।
उनले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताए।
उनले प्रविधिबाट सतर्क हुनुपर्ने अवस्था रहेको पनि बताए।
उनले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन। अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौं। आइटीमा जोड दिनेछौं। अब हाम्रा लागि नयाँ कुरा होइन। च्याट जिपिटी पनि नयाँ कुरा होइन। एआई पनि नयाँ कुरा होइन। हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौं। त्यसका खतरनाक पक्षहरू छन्। ती कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ। त्यसले अह्राएको गर्छ, साँचो र झुटो धेरै छुट्याउँदैन। त्यो कुनै चित्रगुप्त होइन। अह्राएको गर्ने भएकाले गलत अह्रायो भने गलत गर्दछ। त्यो बुझ्न सतर्क हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले विदेश पलायन हुनेभन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताए।—न्युज एजेन्सी नेपाल