भारतीय कलाकार सैफअली खानमाथि छुरा प्रहार भएको छ।
गएराति साढे २ बजे बान्द्राको घरमै कलाकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनी परिवारसहित सुतिरहेको समयमा एक व्यक्ति घरमा प्रवेश गरेका थिए। घरमा रहेका सहयोगीसँग झगडा परेपछि सैफ बचाउन गएका थिए।
त्यसक्रममा ती व्यक्तिले सैफमाथि चक्कु प्रहार गरेर भागेका थिए।
सैफको हातमा शरीरमा विभिन्न ६ ठाउँमा चोट लागेको बताइएको छ। लिलावती अस्पतालका एक डाक्टरले सैफको हात, मेरूदण्ड र घाँटीमा समेत चोट रहेको बताएको छ।
घरमा रहेका परिवारका अन्य सदस्यहरू सकुशल रहेको प्रहरीले जनाएको छ।
सैफकी श्रीमती करिना कपुरले चोरी गर्ने उद्धेश्यले ती संदिग्ध आफ्नो घरभित्र प्रवेश गरेको बताएकी छन्।
घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ।