नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको बताएका छन्।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आवश्यकता भएको बताए।
‘समता र समन्वय मुलुकको विकासको प्रमुख आधार हो भन्ने यथार्थलाई बुझेर सबैले गहिरो गरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो। राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव हुन्छ। नेपालको संविधान र कानूनमा क्रमिक रूपमा अधिकार र समानताको विषयवस्तु समावेश हुँदै आएका छन्। तर यसको व्यवहारिक र कार्यान्वयन अझै प्रभावकारी बनाउन जरूरी छ,’ उनले भने।
संविधानले खास गरी राज्यको मुलधार भन्दा बाहिर रहेका जाति, वर्ग, क्षेत्र र समुदायका लागि राज्यका सबै निकायमा यथा सम्भव समानुपातिक, समावेशिता र आरक्षणको सुनिश्चितता गरेको पनि उनको भनाइ छ।
‘यही मान्यतालाई आत्मसाथ गर्दै हामीले दलित आयोग जस्ता संवैधानिक संस्थाहरूको गठन गरेका हौँ। त्यसका बाबजुत दलित वर्गलाई राज्यका निकायहरुमा सहज र सरल पहुँच स्थापित गर्ने सवालमा अझै चुनौतिको विषय छ। त्यसतर्फ गम्भीर समीक्षा गर्दै राज्यले पहलकदमी लिन आवश्यक छ। यसमा ढिलासुस्ती गर्न हुँदैन। सदियौँदेखि उपेक्षित, उत्पीडित वर्गको राज्यमा समान हक र पहुँच बिना समृद्धिको नारा दिएर मात्रै देश अघि बढ्न सक्दैन,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)