काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, महानगरपालिका-१० का १८ वर्षीय एक किशोर, महानगरपालिका-७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन्।
उनीहरूलाई मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार रहेका उनीहरूको साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट रकम उल्लेख गरिएको ५ थान चेक, ५ थान मोबाइल बरामद गरिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।