सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुरूवाती खेलमा लयमा रहेको जनकपुर बोल्ट्सले पछिल्ला खेलमा पराजय भोगिरहेको छ। पछिल्ला चारमध्ये जनकपुरले तीन खेलमा पराजय भोगिसकेको छ।
लिग चरणमा दोस्रो हुँदै शीर्ष स्थानको सुदूरपश्चिम रोयल्ससँग बुधबार पहिलो क्वालिफायर खेलेको जनकपुर सफल हुन सकेन।
सुदूरपश्चिमसँग ८ विकेटसँग पराजित भएपछि जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्दैछ। खेलमा जित हात पार्ने टोलीले शनिबार उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ।
बुधबारको खेलमा कप्तानीको भूमिका रहेका जनकपुरका मार्की खेलाडी आसिफ शेख आफूहरूको ब्याटिङ नचल्दा हार ब्यहोर्नु परेको बताए। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १३९ रन मात्र जोड्न सकेको थियो।
आसिफले राम्रो सुरूवात गरे पनि मिडल ओभरमा राम्रो ब्याटिङ नभएको स्वीकार गरे।
उनले भने, ‘सुरूवात राम्रो भएको थियो। हामीले मिडल ओभरमा जति राम्रो ब्याटिङ गर्न पर्थ्यो, त्यो गर्न सकेनौं। कुनै एक ब्याटर टिक्नु पर्थ्यो त्यो हुन सकेन। हामीले ३०-४० रन कम बनायौं।’
खेलमा नियमित कप्तान अनिलकुमार साह चोटका कारण अनुपस्थित थिए। उनको स्थानमा युवा ब्याटर आकाश त्रिपाठीले खेलेका थिए। अनिलले ओपनिङमा खेल्ने गरे पनि आकाशलाई बुधबार तल्लो क्रममा ब्याटिङको मौका दिइएको थियो।
यद्यपि अनिलको विकल्पमा जनकपुरमा खेलाडी भएको आसिफ दाबी गर्छन्। आकाशलाई तल्लो क्रममा जिशी निशससँग खेल्ने योजनामा खेलाएको उनले सुनाए।
बुधबारको खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दा जनकपुर ब्याटिङमा चुकेको उनले बताए।
भोलि कर्णालीविरूद्धको खेललाई लिएर पनि आसिफले सोझो उत्तर दिए, ‘जसले राम्रो खेल्छ त्यसले जित्छ।’
आसिफले कर्णालीविरूद्ध खेल जितेर फाइनलमा सुदूरपश्चिमसँग भेट्ने आशा व्यक्त गरे। ‘विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र जित्छौं,’ उनले भने।
जारी एनपिएलमा सुदूरपश्चिमले जनकपुरलाई दुई पटक हराइसकेको छ। यसअघि जनकपुरमाथि सुदूरले लिग चरणमा जित निकालेको थियो। फाइनलमा जनकपुर पुगेमा दुई टोलीबीच तेस्रो भेट हुनेछ।