नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' नेतृत्वको सरकार ढलेपछि अर्को सरकार ७६(२) अनुसार बन्ने कि ७६(३) अनुसार बन्ने भन्ने विषय राष्ट्रपतिको सरोकारको विषय रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्डले कुन धारामा सरकार बन्छ भन्ने चिन्ता छोडेर राजीनामा गरी बाटो छाड्नुपर्ने बताएका हुन्।
'सरकार दुईमा जान्छ कि तीनमा जान्छ त्यो राष्ट्रपतिको चासोको विषय हो। प्रधानमन्त्रीको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो,' उनले भने।
प्रधानमन्त्री प्रचण्डले अत्यधिक रूपमा बहुमत गुमाइसकेकाले पनि नैतिकताको आधारमा राजीनामा दिनु उत्तम हुने उनले बताए।
‘यद्यपि संविधानले समय दिएको छ। विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ। लोकतन्त्र संविधान र कानुन अनुसार मात्रै चल्दैन,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले कानुन नै उल्लंघन गरेको पनि पन्तले दाबी गरे।
‘गएको जनवरीमा भारत भ्रमणबाट आएर सन्धी गर्नुभयो, नेपालको सन्धी ऐनअनुसार एक महिनाभित्र त्यो सन्धी संसदमा ल्याउनुपर्ने अहिलेसम्म ल्याउनुभएको छैन,’उनले भने ।