यसपालिको दसैँमा दाङबाट मात्रै एक करोडको खसीबोको काठमाडौं पठाउने तयारी छ।
शुक्रबारमात्रै १९३ वटा खसीबोका काठमाडौं पठाइएको थियो। शनिबार थप २ सयवटा जति खसीबोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङ शाखाले जनाएको छ।
शाखाले जिल्लामा स्वस्थ खसीबोका किसानहरूबाट किनेर काठमाडौंस्थित केन्द्रीय कार्यालय पठाउँछ। काठमाडौंको थापाथलीस्थित कार्यालयले आइतबारदेखि सहुलियत मूल्यमा खसीबोका बेच्ने तयारी गरेको छ।
खसीबोका किन्न शाखाका कर्मचारीहरू भेटेनरी डाक्टरहरूसहित किसानका घरमा पुगेका थिए।
खाद्यका मुख्य शाखा तुलसीपुरका प्रमुख तिलक सुनारले यो बर्ष २० देखि ४० केजी तौलको खसी र १८ देखि ३० केजीसम्मको बोका खरिद गरी दशैंको लागि काठमाडौं पठाउने क्रम सुरू भएको बताए।
किसानवाट खाद्यले जिउँदो खसी केजीको ५६० र बोका केजीको ५४० को दररेटमा यो बर्ष खरिद गरेको सुनारले जानकारी दिए।
‘दाङबाट यो बर्ष काठमाडौंका लागि झन्डै एक करोड मूल्य बराबरका खसी बोका काठमाडौं पठाउन भएको सर्कुलेसन अनुसार काम भइ रहेको हो,’ सुनारले भने ‘ दाङबाट यो वर्ष ४ सय खसी बोका माग गरिएको छ।’
अघिल्लो बर्षहरुमा पनि दाङबाट खाद्यले दशैंका लागि खसी बोका खरिद गरि पठाउँदै आएको थियो । गत बर्ष दाङबाट खाद्यले मात्रै ७५६ वटा खसी बोका खरिद गरी दशैंका लागि काठमाडौं पठाएको थियो।
त्यो भन्दा अघिल्लो वर्ष एक हजार बढी खसी बोका दाङबाट खरिद गरि खाद्यले काठमाडौं पठाएको थियो। तर, पछिल्लो बाढी, डुबान र पहिरोको कहरका कारण संघीय राजधानी लगाएको क्षेत्रमा भएको क्षतिका कारण धेरै खसी बोका बिक्री नहुने आकलन गरि थोरै मात्रै माग भएको दाङ शाखा प्रमुख सुनारले बताए।
'पहिले जस्तै धेरै पठाउँदा खसी बोका बिक्री नुहुने तथा कम्पनीलाई घाटा बेहोर्नु पर्ने अवस्था आउन सक्ने आकलन गरी यो वर्ष अघिल्ला वर्षहरु भन्दा कम मात्रामा खसी बोका माग गरिएको भन्ने छ,’ सुनारले भने ‘ समयमै बिक्री नहुँदा खसी बोकालाई घाँस वा दाना खुवाउने समस्या एकातिर हुन्छ भने अर्कौ तर्फ उनीहरुको तौल घट्ने समस्या झेल्नु पर्छ।’
खाद्य कार्यालयबाहेक खसी बोकाको व्यापार गर्दै आएका व्यक्तिहरूले पनि दसैँ तिहार जस्ता चाड पर्वहरुमा किसानबाट खरिद गरी सयौं खसी बोका काठमाडौं पठाउँदै आएका छन्।
तस्बिरहरूः