सुशीला गुरूङ प्रकृति, पोट्रेट र संस्कृति फोटोग्राफीमा विशेषज्ञता भएकी फोटोग्राफर हुन्। उनका फोटो-कथाहरूमा सिर्जनात्मक दृष्टिकोण र प्राविधिक विशेषज्ञता पाउन सकिन्छ।
केही समयअघि सुशीलाले 'रिभाइभिङ रिजिलियन्स' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
सुशीलाको 'रिभाइभिङ रिजिलियन्स' पूर्णिमा नापितको कथामा आधारित छ।
पूर्णिमा पेसाले मेकानिक हुन्। उनी मोटरसाइकल-स्कुटर वर्कसपमा काम गर्छिन्।
सुरूमा उनी श्रीमानसँगै मिलेर काम गर्थिन्। अहिले श्रीमानको स्वास्थ्य समस्याले गर्दा उनी एक्लै सबै काम गर्छिन्। शिक्षा नभएकाले उनले कुनै औपचारिक तालिम पाउन सकेकी छैनन्। तर उनको निरन्तरको अभ्यासले उनलाई निखारेको छ।
उनको वर्कसप भाडाको एउटा सानो कोठामा छ। भुइँचालोले भत्काएको घर हाल जस्ताले छाइएको छ। त्यहीँ आँगनमा बाइक धुने ठाउँ छ।
पूर्णिमाकी किशोर उमेरकी छोरी छन्। अहिले पूर्णिमा घरपरिवारका साथै वर्कसपको सबै जिम्मेवारी एक्लै सम्हालिरहेकी छिन्।
बाइक मर्मतसम्भार गरेझैं उनी आफ्नो जीवनलाई पनि हरेक दिन सम्भार गर्दै अगाडि बढिरहेकी छन्। प्रतिकूल अवस्था र अप्ठ्यारामा पनि दरिली भएर उभिएकी छन् उनी। यो फोटो-कथा उनै हिम्मतवाली पूर्णिमाको हो।