परराष्ट्र मन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्।
परराष्ट्र मन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार अपराह्न स्वदेश फर्किएकी हुन्।
क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्र मन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन्।
आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्र मन्त्री राणाले बताइन्।
उनले भनिन्, ‘कतारमा एसिएन कोअपरेटिभ डाइलग थियो। त्यसमा २ वटा इस्यु थियो–एउटा एआइकै इस्यु थियो। त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो। यी कुराहरूलाई हामीले राख्यौं त्यहाँ। बल्ड पिस, एसियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो। त्यहाँ स्पोर्ट्स् डिप्लोमेसीको कुरा पनि थियो। त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर राफ्टिङको एकदमै सम्भावना छ। हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु। एउटा मलाई एकदमै राम्रो के लाग्यो भने जुनै देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो। नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ।’
कतारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलदनको क्रममा परराष्ट्र मन्त्री राणाले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन्। —न्युज एजेन्सी नेपाल