मधेस प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेस प्रदेश सरकारलाई आग्रह गरेको छ।
शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले असोज १२ र १३ गते भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबान आदीका प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो रकम दिन सरकारसँग आग्रह गरेको हो।
सत्ता गठबन्धनको सोही बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, नियुक्त पदाधिकारीका कार्यवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ।
मधेस प्रदेश सभामा लोसपा नेपालको संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा गठित सो समितिमा नेकपा एमालेका तर्फबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य छन्।