गण्डकीमा एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सांरगा सुवेदीको संयुक्त इजलासले रिटको सुनुवाइ गर्दै रिट खारेज गरेको हुन्।
गण्डकीमा एमाले नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरेको भन्दै कांग्रेस सर्वोच्च पुगेको थियो। कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री अधिकारी र सभामुख धिताललाई विपक्षी बनाइ चैत २७ गते रिट दायर गरेका थिए।
रिट खारेजसँगै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद विस्तारसँगै विश्वासको मत लिने बाटो खुलेको छ। यसअघि सर्वोच्च अदालतले अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
गण्डकीमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा एमाले, माओवादी केन्द्र र सांसद राजीव गुरूङ 'दीपक मनाङे' ले समर्थन गरेका थिए।
गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे गरी ६० जना सांसद छन्। गण्डकीमा सरकार बनाउन कम्तीमा ३१ जना सांसदको समर्थन चाहिन्छ।